सीमापारिका पशुचौपायाको व्यवस्थापनमा समस्या 

काशीराम शर्मा । बाँके, २७ साउन : सीमापारिबाट दैनिक ४०/५० वटा पशुचौपाया सीमावारि भित्रिने गरेका छन् । त्यसरी भित्रिएका पशुचौपायाका कारण सीमावारिका बासिन्दाले हैरानी व्यहोर्नुपरिरहेको छ । भारतको उत्तरप्रदेशमा गौहत्यामा रोक लगाइएका कारण त्यहाँ छाडा छाडिएका पशुचौपाया नेपाल भित्रिन थालेपछि नेपालगञ्ज उपमहानगरका लागि चुनौती बनेको हो ।

नेपाल प्रहरीको सहयोगमा सडक तथा बजार क्षेत्रबाट छाडा चौपायालाई नियन्त्रणमा लिई काञ्जी हाउसमा राख्ने गरिएको भए पनि भारतबाट आउने क्रम नरोकिँदा व्यवस्थापनमा समस्या आएको नेपालगञ्ज उपमहानगरपालिका सूचना अधिकारी शरद पौडेल बताउनुहुन्छ । वडा कार्यालयको सिफारिश लिएर पालनपोषण गर्ने गरी कोही व्यक्ति आएको खण्डमा त्यस्ता व्यक्तिलाई उपमहानगरपालिकाले चौपाया उपलब्ध गराउने गरेको छ ।

‘यति गर्दा पनि नियन्त्रणको चुनौती कम भएको छैन,’ सूचना अधिकारी पौडेल भन्नुहुन्छ । बजार क्षेत्रमा रहेका छाडा पशुचौपायालाई नियन्त्रणमा लिई काञ्जी हाउसमा राख्नु दीर्घकालीन समाधान नभएकाले यसमा पशुधनीहरुले नै सहयोग गर्नुपर्ने सूचना अधिकारी पौडेलको भनाइ छ । चौपाया सडकमा छाड्ने पशुधनीहरुलाई उपमहानगरले कुनै कारबाही गर्न नसक्दा लापर्वाही दोहोरिने गरेको बुझाई स्थानीयवासीको छ ।

उपमहानगरभित्र छाडा पशुचौपाया नियन्त्रण निकै चुनौतीपूर्ण बन्दै गएको छ । छाडा पशुचौपायाका कारण नगरको सौन्दर्य मात्र बिग्रिएको छैन, सडक दुर्घटना पनि उत्तिकै बढेको छ । लामो समयदेखि छाडा पशुचौपायाको ब्यवस्थापनमा लागेको नेपालगञ्ज उपमहानगरले व्यवस्थापनका लागि पटक पटक अनेक प्रयास गरे पनि सफल हुन सकेको छैन । छाडा पशुचौपाया हुंँदा शहरको सुन्दरता बिग्रिएको छ भने दिनहुँ सवारी दुर्घटना बढ्न थालेका छन् ।

बजार क्षेत्रको मूल सडकमै जथाभावी बरालिने साँढे, गाई, खच्चड, भुस्याहा कुकुरका कारण सडकमा आवतजावत गर्ने सवारीसाधनलाई समस्या उत्पन्न गरेको छ भने ट्राफिक व्यवस्थापनको समस्या थप बल्झिएको छ । छाडा भेटिएका चौपायाहरुलाई लैजान उपमहानगरले पशुधनीलाई पटकपटक सूचना गर्ने गरेको छ । “सम्बन्धित पशुधनीहरुको बेवास्ताका कारण छाडा पशुचौपायालाई काञ्जी हाउसमा पठाइने गरिएको उपमहानगरले जनाएको छ ।

बजार क्षेत्रका छाडा चौपायालाई जङ्गलमा समेत लगेर छाडिएको जानकारी दिँदै उपमहानगरपालिकाका सूचना अधिकारी पौडेलले भन्नुभयो – “समस्या समाधान भइरहेको छैन ।” जथाभावी पशुचौपाया बजारमा छाड्नाले धेरै सर्वसाधारण र व्यापारीहरुले समेत सास्ती खेप्नुपरेको छ । लामो समयदेखि रहेको छाडा पशुचौपायाको समस्या समाधान गर्न उपमहानगरले दिर्घकालीन उपायको खोजी गर्न जरुरी रहेको स्थानीय बासिन्दाहरु बताउँछन् ।

साँझ तथा रातको समयमा सडकका मुख्य चोक तथा बीच सडकमै अस्तब्यस्त अवस्थामा पशुचौपाया छरिएर बस्दा सवारीसाधन सञ्चालनमा असहज हुनाका साथै दुर्घटनामा समेत वृद्धि भएको छ । काञ्जी हाउसमा राखिएका जनावर मर्ने समस्या भएकाले विकल्प खोज्नुपर्ने नेपालगञ्ज उप–महानगरपालिका–१२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले बताउनुभयो ।

“कान्जी हाउसमा थुनेर राख्दैमा समस्या समाधानको हुँदैन, छाडा पशुचौपायालाई टाढै लगेर छोड्ने र अन्य विकल्पको खोजीमा लाग्नुपर्छ,” उहाँले भन्नुभयो । गाईको सङ्ख्या बढ्दै गएसँगै स्थानीय सरकारले उचित व्यवस्थापन गर्न नसक्दा समस्या झन् बढेको गाई बचाउ अभियानका अभियन्ता विवेक श्रेष्ठले बताउनुभयो । पशुचौपायालाई काञ्जी हाउसमा राखेपछि आवश्यक आहार तथा औषधोपचारमा स्थानीय सरकारले बेवास्ता गरेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो – “गाईको आहारा तथा औषधोपचारका लागि युवा वर्ग आफंै जुटेका छन् ।” गाई बचाउ अभियान नै सञ्चालन गरेर अभियन्ता विवेक श्रेष्ठ, समिरमान श्रेष्ठ, महेश श्रेष्ठ लगायतको टोलीले सामाजिक अपिलसहित घाँस, दाना, पानी तथा आवश्यक औषधिको व्यवस्था गर्दै आउनुभएको छ ।

धेरै किसानले दूध दिन छोडेका तथा बिरामी भएका पशुचौपाया सडक तथा सार्वजनिक स्थानमा छोड्ने गरेको र सीमापारिबाट उत्तिकै सङ्ख्यामा नेपाल भित्रिने चौपायाका कारण समस्या जटिल बनेको अभियन्ताहरुको भनाइ छ । काञ्जी हाउसमा राखिएका पशुचौपायाले भुस, घाँस र पानीसमेत पाएका छैनन् ।

अलपत्र र बेवारिसे अवस्थामा छाडिएका, भारतबाट आएका, दुर्घटनामा परेका पशुलाई नगरले पुरैनास्थित बिर्तामा रहेको काञ्जी हाउसमा राख्दैआएको छ तर, खानाको अभावमा ती पशु मर्न थालेका छन् । हालसम्म ५० भन्दा बढी गाई मरिसकेको स्थानीयवासी बताउँछन् । एकसय पशुचौपाया अट्ने काञ्जी हाउसमा ४०० पशुचौपाया राखिएपछि यस्तो समस्या देखिएको काञ्जी हाउसका कर्मचारी हरि चौधरीले बताउनुभयो ।

काञ्जी हाउसमा २१ वटा खच्चरसहित गाई, गोरु र बाच्छाबाच्छी गरेर ३९५ चौपाया रहेका छन् । उपमहानगरले दिनहुँ छाडा पशु समातेर ल्याउने गरेका कारण यो सङ्ख्या दिनहँु बढ्दै गएको छ । गर्मीमा खुला र छाना नभएको ठाउँमा पशुचौपायाहरू राखिएका छन् ।

काञ्जी हाउसमा धमाधम गाई मरिरहेको खबरहरु बाहिर आउँदा नेपालगञ्ज मेयर धवलशमशेर राणाप्रति रोष प्रकट गर्नेको सङ्ख्या बढिरहेको छ । चुनाव चिन्ह गाई नै रहेका मेयर राणाको पार्टी राप्रपाले हिन्दू धर्मको पक्षमा वकालत गर्दै आएको छ ।

‘गाई बचाउ अभियान’का अभियन्ताहरुले सामाजिक सञ्जाल ‘नेपालगञ्ज ग्यालरी’मार्फत अभियान चलाइरहेका छन् । पचासी हजारभन्दा बढी सदस्य रहेको यो समूहले दुई हप्ताअघिदेखि काञ्जी हाउसमै पुगेर पशुचौपायालाई घाँस, दाना खुवाउने गरेको छ ।

सधैंजसो बेलुका घाँस लिएर टोली पुग्ने गरेको छ । शनिबार त ब्हिान–बेलुका नै घाँस लिएर ठूलो सङ्ख्याका अभियन्ताहरु काञ्जीहाउस पुग्ने गरेको छन् । अभियन्ता समिरले घाँस पाइएको ठाउँमा मजदूर लगाएर काट्न लगाउने र काञ्जी हाउसमा लगेर पशुचौपायालाई खुवाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘बलियोले घाँस र पानी मज्जाले खान पाउँछ । कमजोरले राम्ररी खाना पाउँदैन । खाना नपाएपछि कमजोर पशुहरु बिरामी परेर मर्न थालेका छन् ।”

नेपालगन्जमा सक्रिय फेसबुक ग्रुप नेपालगञ्ज ग्यालरीमार्फत सदस्यलाई गाई बचाउन सहयोग आह्वान गरेसँगै दुई हप्तादेखि अभियन्ताहरुले निरन्तर पशुचौपायालाई घाँस, दाना, पानी खुवाउँदै आएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवलशमसेर राणाले भारतबाट आएका पशु चौपायाका कारण पनि यसको नियन्त्रण चुनौतीपूर्ण बनेको बताउनुभयो । उहाँका अनुसार पशुचौपायाको व्यवस्थापनका लागि काञ्जी हाउस निर्माण भइरहेको छ । उहाँले भन्नुभयो – “यहाँका युवाको सहयोग पाएको छु । यसको दीर्घकालीन समाधान गर्न योजना बुनिरहेको छु । कुनै व्यक्ति वा संस्थाले यसको उपयोग गर्ने इच्छा देखाएमा हामीलाई अझै सहज हुने थियो ।”

कुनै सामाजिक सङ्घसंस्थामार्फत उनीहरुको पालनपोषण गरेर गहुँत, गोबर लगायतका वस्तु प्रयोग गर्नुपर्नेमा स्थानीय बासिन्दाको ध्यान जान जरुरी रहेको स्थानीयवासी विन्दु शर्माले बताउनुभयो । छाडा पशुचौपायालाई बन्ध्याकरण गर्न सके तिनको सन्तानोत्पादन केही हदसम्म घटाउन सकिने उहाँको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.