तलब नपाएर अलपत्र शोभाको यूएईबाट उद्धार

भद्रपुर, २४ साउन : वैदेशिक रोजगारीको सिलसिलामा तीन महिनासम्म तलब नपाएर संयुक्त अरब इमिरेट्स (यूएई)मा अलपत्र झापा कनकाई नगरपालिका–४ सुरुङ्गाकी शोभा न्यौपानेको उद्धार गरिएको छ । न्यौपाने आज स्वदेश आइपुग्नु भएको छ ।

यूएईको उत्तरी राज्य रासलखेमामा स्थित रकिज अमार क्लिनिङ कम्पनीमा कार्यरत ३४ वर्षीया न्यौपानेलाई झापाली समाज यूएईको समन्वयमा नेपाली दूतावास अबुधाबीले उद्धार गरी नेपाल फर्काएको हो । उहाँ काठमाडौँ आइपुग्नु भएको उहाँका पति दिलबहादुरले राससलाई जानकारी दिनुभयो ।

उहाँ कार्यरत कम्पनीले तलब सुविधा रोकेको र अलपत्र बनाएको बारेमा पतिले झापाली समाज यूएईलाई जानकारी गराएपछि अबुधाबीस्थित नेपाली दूतावासको पहलमा उद्धार गरिएको झापाली समाज यूएईमा आवद्ध रामप्रसाद ढुङ्गेलले टेलिफोन सम्पर्कमा बताउनुभयो ।

पीडित न्यौपाने एक वर्षअघि काठमाडौँस्थित पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रालि नामक म्यानपावर कम्पनीमार्फत क्लिनरको काममा यूएई जानुभएको थियो । आफू कार्यरत कम्पनीले तलब नदिएर अलपत्र बनाएपछि उहाँले अर्को कम्पनीमा कार्यरत झापाली दिदीबहिनीसँग र दूतावासमा शरण लिनुभएको थियो ।

ढुङ्गेलका अनुसार नेपाली दूतावासले एकतर्फी ट्राभल डकुमेन्ट बनाएर न्यौपानेलाई नेपाल पठाएको र त्यस प्रक्रियामा आवश्यक पर्ने १५ सय दिराम (करिब ४५ हजार रुपैयाँ) सम्बन्धित म्यानपावर कम्पनीलाई व्यहोर्न लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
Address : Durbarmarga, Kathmandu Nepal
Contact No: 9851155800, 9861155800
Email: mediamissionnepal@gmail.com
info@mediamissionnepal.com
© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.