पहिचान खोज्दै चिडिमार समुदाय

मेनका चौधरी । धम्बोझी, कात्तिक ३ : चिडिमारहरुलाई सरकारले लोपोन्मुख दलितको सूचीमा सूचीकृत गरेको छ । उनीहरुले आफूलाई जनजाति भएको दाबी गर्दै आएका छन् । अहिले उनीहरु दलितको सूचीबाट हटाउन सम्बद्ध सरोकारवालासँग माग गरिरहेका छन् ।

साठी वर्षीय अगुवा हौसीराज चिडिमारले गैरसरकारी र अन्तरराष्ट्रिय संस्थाको आडमा आफूलाई दलितको सूचीमा राखिएको भन्दै उहाँले बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिका–१२ मा चिडिमारको बाक्लो बस्ती छ । चरा मारेर जीविकोपार्जन गर्ने बाँकेमा मात्र रहेको लोपोन्मुख सीमान्तकृत समुदाय आफ्नै पहिचानका लागि सङ्र्घषरत छन् ।

“हामी दलित होइनौँ, जनजाति हौँ”, उहाँले भन्नुभयो, “हाम्रो पहिचान नै हरायो”, सबैभन्दा ठूलो पहिचान भएको भन्दै चिडिमार समुदायका युवायुवती, बूढापाका सबै यसै विषयमा केन्द्रित भएका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ मा चिडिमार समुदायको बाक्लो बसोबास छ ।

जानकी गाउँपालिकाको करमोहना गाउँमा दुई÷चार घर मात्र चिडिमारका छन् । जिल्लामा करीब एक हजार २०० को सङ्ख्यामा चिडिमार छन् । गएको निर्वाचनमा ३६६ ले भोट गर्ने अधिकार पाएका थिए ।

झण्डै चार दशकअघि चरा मारेर जीविकोपार्जन गर्दै आएको यो समुदायमा अहिले धेरै परिवर्तन आइसकेको छ । सोचेजस्तो परिवर्तन अझै हुन नसकेको यस समुदायका अगुवाहरु बताउँछन् । पिछडिएको समुदाय भएकाले यहाँ शिक्षाको समेत अझै अभाव छ । यहाँका बालबालिका केही समयदेखि मात्र नियमित विद्यालय जान थालेको वडा नं १२ का अध्यक्ष बुद्धिसागर सुवेदीले बताउनुभयो ।

पछिल्लो समय चरा मार्न सरकारले नै प्रतिबन्ध लगाएपछि व्यापार, व्यवसायदेखि मजदुरीका काम उनीहरुले गर्दै आएको रामु चिडिमारले बताउनुभयो । “चरा मार्ने पेशा मार्न प्रतिबन्ध लगाएपछि अहिले आएर खेतीपाती, मजदुरी, रिक्सा चलाउने, गाडी, रिक्सा मर्मत गर्ने काम गर्छन् ।

चिडिमार जातको शुरुआत भएको विषयमा उहाँले आफ्नो अनुभव यसरी सुनाउनुभयो । “त्यतिबेला मैले हजुरबुबासँग अरुले खेत जोत्ने आफूहरुले किन यो काम नगरेको भनेर प्रश्न गर्नुभयो । हजुरबुबाले आफूहरुलाई एक जनाले दुःख दिएकाले हलो जोत्न नसकेको बताउनुभयो ।

राणा शासकहरुले चरा मार्न पठाउने गरेका युवाहरुको जात चिडिमार राखिदिएको उनीहरुको भनाइ छ । त्यो समयमा १०० को सङ्ख्या हँुदा १० जनाले मात्र नागरिकता बनाउँथे । उनीहरुका नागरिकतामा चिडिमार भनेर राणाहरुले नै लेखिदिए । अहिले पनि सबैको नागरिकता छैन ।

त्यतिबेला राम नेपाल भन्ने संस्थाले कपडा दिने, पढाउने, उपचार खर्च दिन्थे तर अहिले दलितको नाम लेखाइदिएकोमा चित्त दुखेको रामु चिडिमारको गुनासो छ । उहाँ भन्नुहुन्छ, ‘‘विकासका लागि होला भनेको स्वार्थका लागि गरेको सहयोग रहेछ । हामी अशिक्षित छौँ । जनचेतनाको कमी छ । यसको फाइदा अरुले उठाइरहेका छन् । त्यसैले हामीलाई शिक्षा चाहिएको र पहिचान चाहिएको छ ।’’

अगुवाहरुले भत्ता पाउने लोभमा दलितको सूचीमा समावेश गरेको बताउँदै उहाँ भन्नुहुन्छ, ‘‘बरु भत्ता बन्द गराउन हामी तयार छौँ तर हाम्रो पहिचान जनजाति हुनुपर्छ । यो हाम्रो माग हो । वडा, प्रदेश या सङ्घले लोपोन्मुख दलितमा राखेको यो जातिलाई लोपोन्मुख जनजातिमा राख्न पहल थाल्नुपर्छ ।”

विसं २०६६ मा यो समुदायको विकासका लागि विष्णु चिडिमारको अध्यक्षतामा चिडिमार समाज गठन भएको थियो । त्यो समयमा तीन जनाको नागरिकतामा चिडिमार लेखेर चिडिमार जात लेख्न शुरु गरिएको हो । त्यो समयमा दलित हो भनिएन । अहिले चिडिमार भनेर हेप्ने गरेकामा दुःख लाग्ने उहाँले बताउनुभयो । आफूहरु दलित नभएको र राउटेजस्तै लोपोन्मुख भएकाले जनजाति पहिचान दिनुपर्ने अध्यक्ष विष्णुको माग छ ।

स्थानीय एकादशी चिडिमार अहिले घरमा गृहिणीको मात्रै काम गर्नुहुुन्छ । उहाँलाई पुर्खाको काम चरा मार्न पनि आउँदैन । उहाँहरु अरुको खेतीपातीको काम गरेर जीविका निर्वाह गरिरहनुभएको छ । उहाँका श्रीमान् चन्द्ररामले मिस्त्रीको काम गर्नुहुन्छ । यसै कामबाट अहिले उहाँका छोरी १२ कक्षा पढ्दैछिन् ।

अहिले वडा कार्यालयले महिलाहरु हिंसामा परेको भन्दै मदिरा नियन्त्रण अभियान थालेको छ । त्यसको विकल्पमा महिलालाई सिलाइकटाइ, सानोतिनो व्यापारका लागि सहयोगका कार्यक्रम अगाडि ल्याएको वडाध्यक्ष सुवेदीले बताउनुभयो । उहाँले शिक्षाका कारण यो समुदायमा समस्या रहेको बताउँदै शिक्षालाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

अहिले वडा कार्यालयमा यसै टोलबाट वडा सदस्यका रुपमा चन्दा चिडिमार निर्वाचित हुनुभएको छ । आफ्नो समुदायबाट प्रतिनिधित्व भएकाले उहाँहरुका लागि विभिन्न योजना बनाइरहेको उहाँ बताउनुहुन्छ ।

कतिपय युवाहरुले विभिन्न व्यवसाय गरेर प्रगति गरिरहेका भएपनि अझै केही युवा अझै पनि बिहानदेखि साँझसम्म रक्सी खाएर घरमै हल्लिने गरेको स्थानीयवासी खुसी चिडिमारको भनाइ छ । विस्तारै चिडिमार समुदायका युवाले उच्च शिक्षा पनि अध्ययन गर्न थालेका छन् । छोरीहरुको सानैमा विवाह गरिदिने गरेका कारण चिडिमारका छोरीले धेरै पढ्न पाएका छैनन् ।

यता वडा नं १२ को कार्यालयले जनजातिमा सूचीकृत गर्नका लागि स्थानीयवासीको हस्ताक्षर सङ्कलन आवश्यक रहेको बताएको छ । वडाध्यक्ष सुवेदीले हस्ताक्षर सङ्कलन गरेर वडामा आए यसका लागि आफूले पहल थाल्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.