सबै एम्बुलेन्स प्रदेश सरकार मातहत: मुख्यमन्त्री पौडेल

हेटौँडा, ५ वैशाख : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत सञ्चालन गर्ने गरी व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । प्रदेशको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आजको बैठकमा मुख्यमन्त्री पौडेलले प्रदेशका सबै जिल्लाका कमाण्ड पोष्टले एम्बुलेन्स खिचेर सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।

राज्यबाट छुट लिएर सञ्चालन भएका कतिपय एम्बुलेन्सले राज्यलाई सङ्कट पर्दा असहयोग गरिरहेको भन्दै उहाँले साविकका सञ्चालक वा चालकले एम्बुलेन्स चलाउन नमाने सरकारी चालक परिचालन गरेर भए पनि एम्बुलेन्स चलाइने बताउनुभयो । पौडेलले निश्चित दूरी कायम गरेर कृषि कार्य गर्न दिने गरी योजना बनाउनुपर्ने धारणा राख्नुभयो ।

समितिका संयोजकसमेत रहनुभएका मुख्यमन्त्री पौडेलले आवश्यक सुरक्षा अपनाएर निर्वाधरुपमा खेतीपाती गर्न किसानलाई अनुरोध गरेर उत्पादनमा लाग्न प्रेरित गरिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहलाई सावधानी अपनाएर र दूरी व्यवस्थापन गरेर सकिने काम गराउन लगाउनेतर्फ सोच्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले लकडाउनका कारण कतिपय स्थानमा व्यक्ति जुवातास खेल्न र अन्य विकृतिजन्य कार्य गर्न थालेको जानकारी आइरहेकाले त्यस्ता गतिविधिलाई तत्काल रोकेर त्यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कारवाही गर्न प्रदेशका सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो ।

उहाँले आफ्नो घर जान हिँडेका र अलपत्र परेकाको व्यवस्थापन गर्न मातहतका निकायलाई तत्काल पहल गर्न निर्देशन दिनुभयो । खेतीपातीको मौसम शुरु भएको भन्दै मुख्यमन्त्री पौडेलले कतिपय व्यक्ति वर्षभरि शहर पसेर काम गर्ने तर खेतीपाती लगाउने मौसममा घर आउने र बाली थन्क्याएर फेरि शहर पस्ने रहेका र उनीहरु अहिले अलपत्र भएकाले व्यवस्थापन हुनु आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.