प्रचण्डको आडमा बन क्षेत्र र नदी अतिक्रमण गरेर रिसोर्ट सञ्चालन गर्दै सुकुटे विच एड्भेन्चर रिसोर्ट

काठमाडौँ, २८ पौष : कोभिड पछि विस्तारै चलायमान हुँदै गरेको सिन्धुपाल्चोकको प्रख्यात र चर्चित पर्यटकीय गन्तव्य सुकुटेमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो नै लाग्न थालेको छ । कोरना भाइरसका कारण थलिएको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलले पर्यटन व्यवसायी उत्साहित हुनु स्वभाविकै हो । यहि सुकुटे क्षेत्रको भोटेकोशी नदी करिडोरमा अहिले करिव १५ वटा भन्दा बढी सुविधायुक्त रिसोर्ट तथा होटलहरु सञ्चालित छन ।

यही नदि किनारमा सञ्चालित सुकुटे विच एड्भेन्चर रिसोर्र्टले भने वन क्षेत्र र भोटेकोशी नदीको किनार अतिक्रमण गरेर बर्षैदेखि रिसोर्ट सञ्चालन गरिरहेको पाइएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको ९ नम्बर वडा स्थित कदमबास क्षेत्रमा संचालित सुकुटे विच एड्भेन्चर रिसोर्टले शक्ति केन्द्रको आडमा रवाफ देखाउँदै ३२ रोपनीभन्दा बढी सरकारी वन र नदी किनारको वगर अतिक्रमण गरेर रिसोर्ट सञ्चालन गरिरहँदा पनि सम्बन्धित निकायहरु आँखा चिम्लेर बसेका छन । विगत २५ वर्षदेखि संचालनमा रहेको उक्त रिसोर्टको नाममा भने जम्मा चार रोपनी मात्रै छ । तर, रिसोर्ट भने ३६ रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बेलाबखत गएर बस्ने गरेको उक्त रिसोर्टले अहिले पनि उक्त जग्गा भोगचलन गर्न न कुनै सम्बन्धित निकायसँग अनुमती लिएको छ, न सो प्रयोग गरेवापत कहिँ कतै भाडा नै तिरेको छ । रिसोर्ट संचालित भएको अधिकांश भाग वन क्षेत्र भित्र पर्छ । वन क्षेत्र भित्र बनेको अवैध संरचना हटाउने काम जिल्ला स्थित डिभिजन बन कार्यालयको हो । तर, सो कार्यालयका प्रमुख भने आँखा चिम्लिएर बेखबर जस्तै बनेर रिसोर्ट संचालक महेन्द्र थापालाई रजाइँ गर्न दिइरहेका छन । थापाले आफ्नो रिसोर्ट अध्यक्ष प्रचण्डको दोस्रो घर हो मलाई कस्ले छुन सक्छ हेरौँ त भन्दै सम्बन्धित निकायहरुलाई तर्साउने गरेका छन ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष बालकृष्ण श्रेष्ठलाई यो विषय थाहा नभएको होइन । उनी यही बाटो भएर दैनिकजसो आहोदोहोर गर्छन तर, उनी देखे पनि नदेखेजसरी हिँडेका हुन्छन । पछिल्लो समय गृह मन्त्रालयले सरकारी जग्गा हडपे त्यस्ता जग्गा फिर्ता ल्याउन निर्देशन नै दिएपनि यहाँ भने परिपालना भएको छैन । स्थानिय जनताले बारम्बमार विरोध गरेपनि खासै सुनुवाई भएको छैन । जिल्ला समन्वय समिती, जिल्ला वन कार्यालय र प्रहरी प्रशासनकै मिलेमतो भएपछि जनताको आवाज दबाईएको स्थानियहरु बताउँछन । तर यि सबै निकायहरु यहि बाटो हुँदै कयौँपटक ओहोरदोहर गरिरहेका भए पनि निरिह जस्तै भएर मुकदर्शक बनेका छन ।

सार्वजनि जग्गा भाडामा लिनदिन कुनै पनि निकायले सार्वजनिक सुचना निकाल्नुपर्छ । त्यतिमात्रै होइन वन क्षेत्रको जग्गा त भाडामा लिनै पाइँदैन । वन क्षेत्रको जग्गा भाडामा लिन मन्त्रिपरिषदबाट नै निर्णय गराउनुपर्छ । तर सुकुटे विच एड्भेन्चर रिसोर्टका संचालक महेन्द्र थापा लगायतका सञ्चालकहरुले त्यो त गराएकै छैनन । शक्तिकेन्द्र र पार्टीका नेताहरुलाई रिझाएको भरमा उनीहरुले भोटेकोशी नदी किनार र वन क्षेत्रमा बषैँदेखि रजाइँ गर्दै आएरहेका छन । रिसोर्टका सञ्चालक महेन्द्र थापाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पटक पटक ‘मुड फ्रेस’ गराउन सुकुटे विचमा सयर गराउने गरेका छन । अहिले त प्रधानमन्त्रीकै नाम लिएर सञ्चालक थापाले सरकारी निकायमा धम्की दिने र आतंक मच्चाउने गरेको जानकारहरु बताउँछन । रिसोर्टले नगरपालिका तथा वडा कार्यालयलाई समेत थामथुम बनाउँँदै आएको स्थानीयहरु बताउँछन ।

राजनीतिक आडमा वन क्षेत्र र नदी किनार अतिक्रमण गरेर रिसोर्ट चलाएको सुकुटे विचमा अनेकौ घटना हुने गरेको छ । केहि अगाडी रिसोर्ट भित्र लागु औषध कारोबार भएको घटना समेत सार्वजनिक भएको थियो । गत असार १८ गते मात्रै उक्त रिसोर्टमा बलात्कारको घटना भएको थियो । घटना हुँदा कर्मचारीकै चरम लापरबाही भएको प्रहरीको ठम्याई थियो । मदिराले बेहोस भएकी एक युवतीलाई बलात्कार भएको घटना गुपचुपमै मिलाईएको थियो । भोली पल्ट विहान रिसोर्टमा पैसा तिर्न युवतीले कोशिस गर्दा पर्स नै हराएपछि पर्स खोज्दा उनले आफूमाथि बलात्कार भएको थाहा पाएकी थिइन् । हराएको पर्स खोज्ने क्रममा सिसिटिभी फूटेज हेरिएको थियो । सिसिटिभी फूटेज हेर्दा युवतीमाथि बलात्कार भएको भिडियो फेला परेको थियो । यो घटना लुकाउन थापाले राजनीतिक शक्तिको आड लिएको आरोप छ । प्रहरीले मुद्दा दर्ता गरेर संचालक थापा र कर्मचारीलाई समेत बयान लिएको थियो । राजनीतिक शक्तिको आड देखाउँदै प्रहरीलाइ प्रभावमा पार्न खोजेपनि प्रहरीले आफ्नो भूमिका निभाएको थियो । अहिले थापाले रिसोर्टमा राती आठ बजेपछि प्रहरीलाई समेत रिसोर्ट प्रवेश गर्न दिँदैनन ।

सिन्धुपाल्चोकमा पर्यटन व्यवसायीहरुको साझा संगठन सिन्धु पर्यटन व्यवसायी संघ पनि छ । तर संघको सदस्य रहेका थापाले उनलाई पटकपटक सचेत रहन आग्रह गरेपनि उनले त्यसको बेवास्ता गर्दै आएका छन्। । केही समय अघि उक्त रिसोर्टको संचालक महेन्द्र थापा संघको कोषाध्यक्ष थिए तर उनलाई संघका पदाधिकारी तथा अन्य रिसोर्ट सञ्चालकले व्यवसायलाई मर्यादित र सम्मानित बनाउन पटकपटक सम्झाएर उनको रिसोर्टमा हुने यस्ता अमर्यादित तथा अनैतिक गतिविधि रोक्न आग्रह गर्दा समेत उनले नटेर्ने गरेका छन, संघको बैठकमा बोलाउँदा समेत कहिल्यै नआउने, संघको विधान उलङ्घन गर्ने र व्यवसायको आचारसंहिता विपरित गएपछि अहिले उनलाई संघबाट निष्काशन गरेको सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।

श्रेष्ठका अनुसार यस क्षेत्रमा विदा मनाउन र पारिवारिक मनोरञ्जन गर्न सपरिवार आउने हुनाले यसलाई मर्यादित, सम्मानित र पारिवारिक वातारण दिने हाम्रो उद्धेश्य हो, ‘हामीले रिसोर्ट चलाउँदा पैसा मात्रै हेरेर हुदैन आउने पर्यटकको लागि सेवा सुबिधा र सुरक्षा प्रत्याभुती हुने खालको व्यवहार गरे मात्रै पर्यटकको लागि राम्रो हुनेछ,’ उनले भने,‘ त्यसैले हामीले हाम्रो अन्य रिसोर्टमा घुम्न आउने पर्यटकको लागि सेवा सुबिधाको लागि राम्रो प्रबन्ध मिलाएका छौँ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2023. All Rights Reserved.