नेपाल पृथ्वीको स्वर्गजस्तो : जापानी आरोही हिरोता

एकराज पाठक र रमेश लम्साल । काठमाडौँ, १ पुस : “पाकिस्तानको गासेरब्रुम हिमाल चढ्दा दुर्घटनामा परेँ । मेरुदण्डको हड्डी भाँच्चियो, सँगैका केही साथी पनि त्यसैमा परेर मरे । मलाई पनि बचुँलाजस्तो लागेन । भ्रमण दलका एकजना आरोही चिकित्सक रहेछन् । उनले भने– तिमी भोलिसम्म मर्छौं, तिम्रो घर परिवारलाई केही सन्देश छ भने भन, म परिवारलाई पु¥याइदिउँला ।”

गत हप्ता पानीपोखरीस्थित जापानी दूतावासमा प्रसिद्ध हिमाल आरोही जापानी नागरिक हिरोताका ताकेउचीले हिम पहिरोमा परेको अनुभव सुनाउँदा हल सुनशान भयो । उनी हिमाल चढेको ‘डकुमेन्ट्री’ हेर्न दूतावास हलमा उपस्थित सबैले घरिघरि उनको मुहार पढिरहेका थिए र उनको साहसिक आरोहणको यात्रा समेटिएको सो ‘डकुमेन्ट्री’ बडो चाखसित चियाइरहेका थिए ।

आरोही ताकेउचीले आफ्नो सङ्घर्षले भरिएको जीवनगाथा सुनाए । आठ हजार मिटरमाथिका विश्वका १४ वटै हिमाल चढेका उनी पहिलो जापानी हुन् । उनले त्यहाँ आफ्नो अनुभव सुनाउँदा कुनै बेला उनको मुहार चम्किन्थ्यो र उत्साहित देखिन्थे । अनि बेला बेलामा उनको मुहारमा दुःखको विराट तस्वीर झल्किन्थ्यो तर, उनको अभिव्यक्तिमा अदम्य साहस देखिन्थ्यो र यसबाट बुझ्न सकिन्थ्यो– उनी थाकेका छैनन्, अझै धेरै गर्न बाँकी छ ।

सामान्य मानिसलाई त सानातिना पहाड चढ्नु पनि कल्पना बाहिरको कुरा हो । अझ आठ हजार मिटरभन्दा अग्लो हिमाल चढ्नु झन सानो कुरा भएन । नेपाल हिमालै हिमालको देश हो, तर पनि एकाध सय नेपाली मात्रै हिमालको टाकुरामा पुगेका होलान् । अनि सगरमाथा चढ्ने नागरिक त धेरै कम । त्यसमा अझै आठ हजार मिटरमाथिका १४ वटै हिमाल चढ्ने त कति हो कति कम ।

पातलो ज्यानका हिरोताका आफूले पाएको दुःख र पीडाको मात्रै नभई रोमाञ्चक अनुभव सुनाउन उभिएमका थिए । शुरुमै उनले भने– तपाईंहरुले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमाल चढेको मान्छे देख्नुभएको छ ? छैन भने आजै देख्दै हुनुहुन्छ, त्यो म नै हुँ । अचम्म नमान्नुहोला यस्तो मानिसले कसरी चढ्यो होला भनेर । किन भने मैले शुरुमा त मलाई नै पत्याएको थिइन तर यो सब मेरो आँट र इच्छाले सम्भव बनाइदियो ।

उनले भनेझैँ हिरोताकालाई हेरेर उनको यो सफलता पत्याउन आम मानिसलाई कठिन नै हुन्छ । हिमाल चढ्दाका अप्ठेराहरु समेटिएको उनको वृत्तचित्र हेर्दा त झन आङ जिरिङ्ग हुन्छ । उनले चरा उडेर पुग्ने ठाउँमा आफू हिँडेर पुगेको साहसिक कथा सुनाएका थिए । नेपालका लागि जापानी राजदूत मासामिची साइगोसमेत आश्चर्य भावमा हिरोेताकाका कुरा सुनिरहेका थिए । बेला बेलामा जिब्रो काड्थे र अघिल्लो सिटमा बसेका उनी कुनै बेला पछि फर्किएर अरुको मुहार हेर्थे ।

विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन् । तीमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथासहित कञ्चनजङ्गा, लोहोत्से, मकालु, चोयू, धौलागिरि, मनास्लु, अन्नपूर्ण नेपालमै पर्छन् ।

यसबाहेकका विदेशमा रहेका अरु हिमालमा केटु, नांगा पर्वत, गासेरब्रुम, ब्रोड पिक, गासेरब्रुम दोस्रो र सिसापाङ्मा हुन् । उनले यी सबै हिमाल आरोहण गरेका छन् । यी हिमालको शिखरमा पुगेर उनले आफ्नो मात्रै नाम चम्काएनन्, संसारभर नै नेपालको र आफ्नो देश जापानको पनि चम्काए ।

“आरोहण गर्दै थिएँ, मैले ‘च्यालेन्ज’ नै गरेर त्यहाँ पुगेको थिएँ, किनकी मलाई हिमालले मोहनी लगाएको थियो । एक्कासि हिम पहिरो आयो, मलाई त्यो पहिरोले ३०० मिटर तल बगायो ।” उनले आफ्नो आरोहणको कथा सुनाए । उनी अगाडि भन्दै गए– मेरो ढाडको हड्डी भाँच्चिएको थियो, शरीर पूरै हिउँजस्तै चिसो, कता दुखेको थियो थाहै थिएन । म बोल्न सक्दैनथेँ तर आरोहण दलका साथी चाँहि चिन्थेँ । यो गासेरब्रुम चढ्दाको पीडाको कथा हो ।

मलाई यति दुख्यो कि त्यो दुखाइ साँँच्चै पीडादायी थियो । मेरा सहयोगीले खुट्टामा समातेर ताने, खासमा त्यसो गर्नु नहुने रहेछ । मलाई बचाउन उनीहरुले त्यसो गरेका रहेछन् । आरोहण टोलीमा एक चिकित्सकसमेत रहेछन्, उनले मलाई दुखाइ कम हुने औषधि दिए र भने तिमी भोलिसम्म त मर्छौं होला, भनेका थिए ।

एउटा क्याम्पमा थिएँ, वरिपरि प्लाष्टिकले बेरेर राखेको सामानजस्तो थुप्रो थियो । मैले भने अक्सिजन मास्क लगाएको थिएँ, मेरो सहयोगीले नै त्यो लगाइदिएका रहेछन्, पछि थाहा पाएँ तर, मलाई अक्सिजन लगाइदिने साथी पछि बितीसकेको थियो । यसो हेरेँ प्लाष्टिकले बेरेर राखेको सामानजस्तो लाग्ने थुप्रो देखियो त्यो आरोहीको रहेछ, तर सबैले हिमालमै जीवन सुम्पिसकेका– उनले भने ।

हिरोताका भन्दै गए– केही पहिले त सँगै थियौँ, र एकापसमा भन्थ्यौँ कि हिमाल चढेर आफ्नो र देशको नाम राख्नुपर्छ । उनीहरुको भौतिक शरीर हेर्दा पनि त्यति मात्र सम्झिएँ । अनि मेरो कानमा गुन्जियो– हितोताका तँ अझै हिमाल चढ र नाम लेखा है । वास्तवमा आजका दिनसम्म पनि उनलाई हिमाल चढ्न प्रेरित गर्ने घटना त्यही हो । त्यो घटना सन् २००७ को हो ।

मलाई त हिमालसँग जोरी खोज्नु मेरो रहरजस्तै भइसकेको छ, किन भने मेरो साथ टुटेका आरोहीहरुले हिमालसँग नहारेस् है भनेका छन् । मेरो एक जर्मनी साथी राल्फ साइमन र मैले संसारका आठ हजार मिटरमाथिका १४ वटै हिमाल चढ्ने अठोट गरेका थियौँ । त्यो क्रम मेरो बालककालदेखि नै शुरु भएर सन् २०१२ मा पूरा भएको हो । किन हिमाल चढ्नुहुन्छ भन्ने प्रश्नमा उनको उत्तर थियो । उनको यो कीर्तिमान सन् २०१२ मा पूरा भएको हो ।

उनलाई उनका पिताले बाल्यकालमा नै जापानका पहाड चढाउन लानु हुन्थ्यो, त्यही बेलादेखि नै हिमाल हेर्ने रहर उनको मनमा भरिएर आउँथ्यो । उपस्थित जिज्ञासु मुहारको उत्सुकता मेटाउन उनले भने–जापानमा आन्तरिक उडानमा उड्ने जहाज आठ हजार मिटरको हाराहारीमा उड्छन् । जहाजमा रहेका बेला हामी आठ हजार मिटर उचाइमा पुगेका छौँ भनेर सूचना देख्नुभयो भने यसो जहाजबाट बाहिर हेर्नुहोला, तपाईंहरुलाई पनि म यति उचाइमा छु भन्ने भावना आउँछ ।

उनले हिमाल आरोहणको खतरापूर्ण कथा सुनाएपछि हाम्रो प्रश्न थियो– हिमाल चढ्न के सधैँ यस्तै खतरा हो ? हो, उनको जवाफ थियो । हिमालमा त हामी जोखिम लिएरै जाने हो । मर्ने नमर्ने भन्ने त भाग्यमा पनि भर पर्छ । किन भने कुनबेला पहिरो आउँछ भन्ने त के थाहा हुन्छ र ?

तपाईं आफ्नो मिसनको चुचुरोमै पुगेपछि के देख्नुहुन्छ ? हाम्रो यो काल्पनिक प्रश्नमा उनको जवाफ थियो– त्यो हिमालको शिखरमा पुगेपछि मैले अरु केही देख्दिन, मैले चढ्नुपर्ने त्यसपछिको अर्को हिमालको टुप्पो मात्र देख्छु र त्यसैबाट लोभिन्छु । अनि ओर्लिएपछि त्यसतर्फको यात्राको तयारीमा लाग्छु ।

सन् १९७१ मा जन्मिएका हिरोताकाजस्तै आठ हजार मिटर अग्ला सबै हिमाल चढ्ने मानिस विश्वमा निकै थोरै छन् । ४८ वर्षीय उनको जाँगर अहिले पनि उस्तै छ । भन्छन्– मेरो अबको लक्ष्य पनि हिमाल नै चढ्ने हो, कसैले नचढेका हिमाल चढेर नयाँ नयाँ गन्तव्य भेटाउने तर, अब हिमाल चढ्न गाह्रो हँुदै गएको उनको अनुभव छ । यो उनको उमेरले मात्र नभएर जलवायु परिवर्तन पनि एक कारण हो ।

विगतमा आफूले चढेका हिमालका शिखरहरु हेर्दा काला हुँदै गएको देखिन्छ । हिउँ पग्लिएर पत्थर देखिन थालेको छ, यस्तोमा चढ्न झनै गाह्रो हुन्छ– उनको अनुभव छ । सन् १९९६ मा २५ वर्षको उमेरमा विश्वको सर्वाेच्च शिखर सगरमाथा चढेपछि हिमाल आरोहणलाई निरन्तरता दिएका उनले बताए ।

नेपाल पृथ्वीको स्वर्गजस्तो लाग्छ भन्छन्, उनी तर, उनको सुझाव छ कि नेपाललाई जापानीहरु हिमालको देश भनेर बढी चिन्छन् । नेपाल संस्कृति, प्राकृतिक सम्पदा, विश्व सम्पदालगायत धेरै कुराले नेपाल धनी छ, त्यो कुरा पनि थाहा दिनुभयो भने जापानीलाई आकर्षित गर्न सजिलो पर्नेछ । नेपालको सुन्दरता विश्वमा चिनाउन सकिएमा त्यसैमा नेपालको समृद्धि छ, उनको भनाइ छ ।

नेपालले पनि सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । हिमाल मात्रै नभई नेपालका अन्य प्राकृतिक स्रोत तथा साधनको समेत प्रचार गर्नुपर्ने सुझाव छ उनको । जापानी नागरिकले सगरमाथा आरोहरणको ५० वर्ष पुगेको अवसरमा सन् २०२० मा नेपाल र जापानमा समेत संयुक्तरुपमा कार्यक्रम आयोजना गर्ने समेत उनले जनाए । त्यो कार्यक्रममा खास के हुन्छ ? उनले भने– त्यस कार्यक्रममार्फत हामी विशेष गरी हिमाल र हिमाल आरोहणसम्बन्धी सूचना र सन्देश विश्वमा नै दिन चाहन्छौँ ।

उनको अनुभवमा हिमाल चढ्ने काम एक प्रकारको कुशल अभ्यास पनि हो । यो एउटा ठूलो जोखिमको काम हो । जोखिम नलिँदासम्म सफलता पाउन पनि मुस्किल छ । यसोभन्दा उनमा थोरैमात्र डर र धेरै उत्साह देखिन्थ्यो । आफूलाई व्यावसायिक हिमाल आरोही बताउने उनले आफ्नो जीवनभर नै हिमाल चढ्ने बताए । उनी भन्छन्– जीवन रहेसम्म हिमाल चढ्छु, अबको योजना कोही नपुगेको शिखरमा पुग्ने छ । खोज्दैछु, अब कोही नपुगेको हिमाल चढ्ने हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: