विदेश फापेन, गाउँमै भाग्योदय

ध्रुबसागर शर्मा । गलेश्वर, ७ असार : दाम र कामको खोजीमा ठूलो ऋण झिकेर युरोप पुगेका बेनी नगरपालिका–६ एकपाटेका विनोद बानियाँ गन्तव्यमा नपुग्दै प्रहरीको फन्दामा पर्नुभयो ।

युरोपको चक्करमा लागेर करीब २० लाख डुवाउनुभएका बानियाँले सानो लगानीमा शुरु गर्नुभएको पशुपालनबाटै कमाइ गर्न सफल हुनुभएको छ । तीन वर्ष अगाडि रु तीन लाखको लगानीमा घरमै पशुपालन गर्नुभएका बानियाँले विदेश जाने रहरलाई तिलाञ्जली दिँदै पशुपालनमै जम्नुभएको छ ।

स्थानीय र उन्नतजातका पाँचवटा भैँसीबाट दैनिक ७० लिटर दूध बिक्री गर्ने गरेको बानियाँले बताउनुभयो । तीन लाखबाट पशुपालन शुरु गर्नुभएका बानियाँको लगानी रु १० लाख पुगेको छ । “विदेशमा डुबेको पैसा दूध बेचेर कमाउँदै छु । घरमै खर्च कटाएर मासिक रु एक लाख आम्दानी हुन्छ”, बानियाँले भन्नुभयो ।

उहाँका अनुसार डेरीमा प्रतिलिटर रु ७० र घरायसी प्रयोजनका लागि प्रति लिटर रु १२० सम्ममा दूध बिक्री गर्ने गरेका बानियाँले कुखुरापालन समेत गर्नुभएको छ । “दिगो र बलियो आम्दानीको माध्यम नै पशुपालन रहेछ । हरेक वर्ष लगानी थप्छु” बानियाँले भन्नुभयो । उहाँले घरमै व्यवसाय गरेर राम्रो कमाउन सकिने रहेछ भन्ने चेतना भए पनि सरकारी अनुदानमा विभेद, पयापर््त घाँसको अभावले पशुपालनमा युवाको लगानी आर्कषित गर्न नसकिएको बताउनुभयो ।

विदेश जाने लगानीले घरमै एउटा उन्नतजातको भैँसीबाट मासिक राम्रो कमाइ गर्न सकिने बानियाँको भनाइ छ । परिवारको सहयोगमा पशुपालन गरिरहनुभएका बानियाँले दैनिक बिहान र बेलुकी दुई पटक मोटरसाइकलमा दूध ढुवानी गर्ने गर्नुभएको छ ।

बानियाँले भैँसी र कुखुरालाई आवश्यक पर्ने पानीको समस्या रहेको बताउनुभयो । उहाँले दूध बेचेर घरायसी खर्च, साहुबाट लिएको ऋण भुक्तानी गरेर बचत समेत हुने गरेको बताउँदै गोठ विस्तार गदैं पशुपालनमा दोब्बर लगानी गर्ने बताउनुभयो ।

गाउँघरका युवालाई विदेश पलायन रोक्न सरकारी निकायबाट वितरण हुने अनुदानलाई प्राथमिकताको आधारमा वितरण, बैंकबाट सस्तोमा कर्जा, युवा लक्षित कार्यक्रम, अनुदान रकम, मेसिन, भकारो सुधार, गोठ निर्माण, आवश्यकता अनुसार निःशुल्क घाँसको बीउ, औषधि उपचार, पशुसेवाका कर्मचारीले घरदैलोमै निःशुल्क उपचारमा प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।

जिल्लामा विदेशबाट फर्किएका युवा पशुपालनमा आर्कषित हुने गरेका छन् । जिल्लामा अहिले करीब एक सयभन्दा बढी विदेशबाट फर्किएर व्यावसायीक पशुपालनमा संलग्न भई मनग्य आम्दानी गर्ने किसान रहेको तथ्याङ्क रहेको छ ।

बगरफाँटमा परम्परागत कृषि प्रणाली

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट सदरमुकाम बेनी बजारसँगै जोडिएको र सबै किसिमका सुविधाको पहँुचमा रहेको भए पनि यहाँ अझैसम्म परम्परागत कृषि प्रणाली कायमै रहेको छ ।

अर्र्गानिक गाउँको रुपमा परिचित बगरफाँटका केही किसानले खेतीपातीमा प्रविधिको प्रयोगको शुरुआत गरेपनि प्रायः कृषकहरुले अझै पनि खनजोतदेखि मल बीउसम्म परम्परागत प्रविधि र सीपको प्रयोग गरिरहेका छन् ।

म्याग्दीको अन्नभण्डारसमेत भनिने बगरफाँटका करीब २०० कृषकहरु जागिर, व्यापारसँगै पुख्र्यौली पेसाको रुपमा कृषि पेसा अपनाइरहेका छन् । यहाँका अधिकांश व्यक्तिले कृषि पेसा अपनाएका छन् । यसलाई व्यावसायिक बनाउने भने कम रहेको बगरफाँटका अगुवा कृषक जीतबहादुर कार्कीले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र म्याग्दीले यहाँका कृषकलाई सहुलियत, अनुदान र निःशुल्क रुपमा समेत विभिन्न किसिमका कृषि सामग्रीहरु प्रदान गर्दै आएको छ । सिँचाइका लागि पाइपदेखि लिएर औजार, उपकरण, मल, बीउ, तालीम उपलब्ध गराएपनि कृषिलाई व्यावसायिक बनाउनेतर्फ कसैको ध्यान नगएको कृषि ज्ञान केन्द्रका प्राविधिक बताउछन् ।

बगरफाँट ताजा तरकारी र अर्र्गानिक बालीका लागि अत्यन्तै सम्भावना रहेको गाउँ हो । यहाँका कृषकले व्यावसायिक रुपमा कृषि पेसा नअपनाएको उनीहरुको भनाइ रहेको छ ।

बगरफाँटका कृषकले अर्र्गानिक खेती गर्दै आएका छन् । यहाँ उत्पादित तरकारी र अन्नबालीको माग बजारमा धेरै छ । तर किसानले मागअनुसार उत्पादन गर्न नसकेको अर्का कृषक तिलकुमारी कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: