नेपाल ओलम्पिक कमिटीको प्रादेशिक संयोजक तथा सदस्यहरु चयन

ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद जीवनराम श्रेष्ठ पोखरामा दुई दिनसम्म सञ्चालन भएको कमिटीको तेस्रो पूर्ण बैठकका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै । तस्वीर: कृष्णप्रसाद दवाडी

कास्की, ४ चैत : नेपाल ओलम्पिक कमिटीले प्रदेश र स्थानीय तहसम्म खेलकूदको विस्तार, समन्वय तथा व्यवस्थित गर्नका लागि सातै प्रदेशमा प्रादेशिक संयोजक तथा सदस्यहरु चयन गरेको छ ।

यही चैत ३ गतेदेखि पोखरामा शुरु भएको कमिटीको तेस्रो पूर्ण बैठक आज प्रादेशिक संयोजक तथा सदस्यहरु चयनलगायत विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको हो ।

बैठकका निर्णय सार्वजनिक गर्न पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा कमिटीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले प्रदेश नं १ मा पिताम्बर तिमिल्सिना प्रदेश नं २ मा अशोकरत्न बज्राचार्य, वाग्मती प्रदेशमा सुनिलबहादर श्रेष्ठ, गण्डकीमा तेजबहादुर गुरुङ, प्रदेश नं ५ मा कुमारीतुलसी थापा, कर्णालीमा दीपक हर्ष बज्राचार्य र सुदूरपश्चिम प्रदेशमा रतन तण्डनलाई संयोजकको जिम्मेवारी तोकिएको जानकारी दिनुभयो ।

बैठकले विभिन्न विभाग (कमिशन) गठन गरेको छ । विभागमा सात देखि ११ सदस्य रहने प्रावधान राखिएको छ । महिला तथा खेलकूद विभागको संयोजकमा ज्योति राणा, संस्कृतिमा रामजी श्रेष्ठ, मार्केटिङमा गोपाल कक्षपति, सबैका लागि खेलकूदमा विष्णुगोपाल श्रेष्ठ, मेडिकलमा डा सरोजकृष्ण श्रेष्ठ, खेल मनोविज्ञानमा ईन्द्र गुरुङ, खेलकूदमार्फत शान्ति विभागमा रमेश महर्जन, खेलकूद तथा वातावरणमा गोवद्र्धन श्रेष्ठ तथा सूचना र तथ्याङ्क विभागको संयोजकमा मोहन नेपाललाई चयन गरेको छ ।

एथ्लेटिक्स विभाग र ओलम्पिक एशोसिएशन विभाग भने गठन गर्न बाँकी रहेको र तीन महिना भित्रमा चुनावको माध्यमबाट यसलाई गठन गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । बैठकले राष्ट्रिय खेलकूद र च्याम्पीयनशीपहरुको संयोजन गर्न पिताम्बर तिम्सिनालाई संयोजक चयन गरेको छ ।

त्यस्तै बैठकले अन्तरराष्ट्रिय खेलकूदको संयोजनको जिम्मेवारी कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, गैरआवाशीय नेपाली सङ्घको संयोजकमा तेजबहादुर गुरुङ र राष्ट्रिय सङ्घहरुसँग समन्वयको जिम्मेवारी चतुरानन्द राज वैद्यलाईं तोकेको छ ।

बैठकले नेपाल ओलम्पिक कमिटीमा कार्यकारी निर्देशक पदमा उपाध्यक्ष चतुरानन्द राज वैद्यलाई नियुक्त गरेको छ । पूर्वअध्यक्ष रुकुम शमशेर राणा र ध्रुवबहादुर प्रधानलाई कमिटीको मानार्थ अध्यक्षमा चयन गरिएको छ । नेपाल ओलम्पिक कमिटीले वार्षिक साधारणसभाको अवसरमा अवार्डसमेत वितरण गर्ने भएको छ ।

ओलम्पिक अभियानमा योगदान दिने छापा, फोटो, अनलाइन, टेलिभिजन, उत्कृष्ट तीन वटा राष्ट्रिय सङ्घहरु तथा वर्ष उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई नगद रु २५/२५ हजारसहित अवार्ड वितरण गर्ने निर्णय गरिएको महासचिव मिलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले ‘चिल्ड्रेन अफ एसियन गेम्स’ नेपालमा आयोजना गर्नका लागि सङ्घ तथा गण्डकी प्रदेश सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । हरेक चार÷चार वर्षमा सो प्रतियोगिता आयोजना हुँदै आएकामा मङ्गोलियामा सातौँ संस्करणको प्रतियोगिता गर्न तय भए पनि आन्तरिक कारण जनाउँदै उसले प्रतियोगिता नगर्ने भएपछि नेपालमा आयोजनाका लागि प्रस्ताव आएको कमिटीका अध्यक्ष श्रेष्ठले बताउनुभयो । नेपालले पाँचौँ र छैटौँ संस्करणको प्रतियोगितामा सहभागिता जनाएको बताइन्छ ।

सो प्रतियोगिता नेपालमा आयोजना भएको खण्डमा अन्तरराष्ट्रिय प्रचारप्रसार हुने भएकाले कोरोना भाइरस सङ्क्रणको त्रास अन्त्य भएपछि सन् २०२० भित्रमा गर्ने गरी सरकारसँग प्रस्ताव गरिएको कमिटीले जनाएको छ । कमिटीका पूर्वमहासचिव तथा नेपाल बास्केटबल सङ्घका अध्यक्ष लामा टेन्डी शेर्पा लामो समयदेखि उपचार गराइरहनुभएकाले उहाँको सहयोगार्थ कमिटीका तर्फबाट रु पाँच लाख तथा कमिटी कार्यसमिति र पदाधिकारीका तर्फबाट रु पाँच लाख गरी रु १० लाख सहयोग प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.