शहीद स्मारक लिग : शीर्ष स्थानको मछिन्द्र पराजित

काठमाडौँ, ३ माघ : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको खेलमा लिगको शीर्ष स्थानमा रहेको मछिन्द्र क्लब पराजित भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्र हिमालयन शेर्पा क्लबसँग २–० गोलले हारेको हो । लिगमा मछिन्द्रको पहिलो हार तथा हिमालयनको पहिलो जित हो ।

हिमालयन शेर्पाले खेलको पहिलो मिनेटमा नै गोलको अग्रता लिएको थियो । मछिन्द्रका पिटर सेगुनले बल आफ्ना गोलकिपरलाई पास दिन खोज्दा आत्मघाती गोल भएको हो । मछिन्द्रका लागि अर्को गोल खेलको २०औँ मिनेटमा विजय श्रेष्ठले गर्नुभएको हो । उहाँले निरज बस्नेतको फ्रि किकमा हेडमार्फत गोल गर्नुभएको हो । श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित हुनुभयो । लिगको सातौँ चरणको खेल आजदेखि शुरु भएको हो ।

वर्षाले दशरथ रङ्गशाला हिलाम्य भएपछि खेल एन्फा कम्प्लेक्समा सार्नुपरेको हो । हिमालयनले सात खेलमा एउटामा जित, दुईमा हार तथा चारमा बराबरी खेल्दै सात अङ्क बटुलेको छ । हिमालयन लिगको १०औँ स्थानमा छ । यस्तै मछिन्द्र सात खेलमा चारमा जित, एकमा हार तथा दुई खेलमा बराबरी खेल्दै १३ अङ्कसहित लिगको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.