मुसहर समुदायका एसइई र १२ कक्षा उत्तीर्ण शिक्षार्थी सम्मानित

जनकपुरधाम, २८ भदौ : विसं २०७५ को एसइई परीक्षा र १२ कक्षा उत्तीर्ण भएका मुसहर समुदायका शिक्षार्थीलाई आज यहाँ सम्मान गरिएको छ ।

भोर, शक्तिहीनको सशक्तीकरण, मुसहर समुदायको उत्थान अभियान र नेपाल राष्ट्रिय मुसहर सङ्घको समन्वयमा देशभरिका १७२ एसइई र ४८ कक्षा १२ उत्तीर्ण भएका मुसहर समुदायका शिक्षार्थीलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा एसइई उत्तीर्ण ४८ महिला र १२४ पुरूष एवं कक्षा १२ उतीर्ण १० महिला र ३८ पुरूष शिक्षार्थी रहनुभएको छ । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, नीति आयोगका उपाध्यक्ष प्राध्यापक डा भोगेन्द्र झा र भारतको बिहार विधान परिषद् सदस्य डा सन्तोष माझी मुसहरले संयुक्तरूपमा उहाँहरूलाई सम्मान गर्नुभएको हो ।

नेपाल राष्ट्रिय मुसहर सङ्घको अध्ययन प्रतिवेदनअनुसार नेपालमा १२ लाख मुसहर समुदाय रहेका छन् । सोमध्ये ९५ प्रतिशत भूमिहीन र ८० प्रतिशत नागरिकताविहीन छन् । अशिक्षा, गरीबी, बालविवाह र रक्सी सेवनको बाहुल्यता रहेको सो समुदायको साक्षरता दर सात प्रतिशत मात्र रहेको छ । अध्ययनअनुसार सो समुदायमा ९७ प्रतिशत बालविवाह व्याप्त रहेको छ । त्यस्तै सो समुदायका १५ जना सरकारी जागिरमा कार्यरत छन् ।

सो अवसरमा मन्त्री यादवले निर्माणकार्यमा मुसहर समुदायको अमूल्य योगदान भएको चर्चा गर्दै मुसहर समुदायका किशोर–किशोरीको शिक्षामा पहुँच बढाउनु आवश्यक भएको धारणा राख्नुभयो । केन्द्रीय सरकारले मुसहर समुदायको तथ्याङ्कमा पनि विभेद गरेको बताउँदै उहाँले प्रदेश सरकारले मुसहर समुुदायको उत्थान हुने नीति ल्याउने गृहकार्यमा जुटेको छ भन्नुभयो ।

नीति आयोगका उपाध्यक्ष प्राध्यापक डा झाले मुसहर समुदाय धरतीपुत्र भएको प्रसङ्ग उल्लेख गर्दै ठूल–ठूला भवन निर्माण गर्ने आफैँ सम्पत्तिविहीन, घरविहीन र भूमिहीन हुनु विडम्बना हो भन्नुभयो ।

भारत बिहार विधान परिषद्का सदस्य डा माझीले शिक्षाका माध्यमले समुदायको उत्थान हुने कार्यक्रम सञ्चालन गर्नु जरूरी भएको बताउनुभयो । भोर नामक संस्थाका अध्यक्ष राजकुमार महतोले हालसम्म अभियानमार्फत २५० भन्दा बढी मुसहर समुदायका शिक्षार्थीलाई आर्थिक र प्राविधिक सहयोग गरी उच्च शिक्षा अध्ययन गराउन सफल भएको जानकारी दिनुभयो ।

सङ्घका अध्यक्ष चन्देश्वर सदाको सभापतित्वमा भएको सो समारोहमा एसइई परीक्षा उत्तीर्ण ६० वर्षीय अकलु माझीले इच्छाशक्ति प्रबल राखी अध्ययनमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.