मिथिलाको लोकगाथासंँग जोडिएका नाच लोप हुंँदै   

वीरेन्द्र कर्ण । वीरगञ्ज, १३ माघ :  पछिल्लो समय मिथिलाको लोकगाथासँग जोडिएका विभिन्न नाच लोप हुँदै गएका छन् ।

१६औँ शताब्दीसँगै अस्तित्वमा आएको मिथिलाको ग्रामीण संस्कृतिसँग जोडिएका राजा सलहेश, दिनाभद्री, कुँवर वृजभान, आल्हारुदल, गोपीचन्द, राजा भरथरी, सामाचकेवा जस्ता पौराणिक नाच अहिले लोप हुनथालेका हुन् । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म तथा छिमेकी मुलुक भारतको पटनासम्म प्रख्यात रहेको यस्ता लोकनाच हराउँदै गएसँगै यसका कलाकार पनि विस्तापित हुँदै गएका छन् ।

मिथिला संस्कृतिसँग जोडिएका पौराणिक नाच लोप हुनुमा लगानीकर्ताको अभाव, युवापुस्ता वैदेशिक रोजगारमा जानु, नयाँनयाँ प्रविधिको विकास हुनु जस्ता मुख्य कारण भएको जानकारहरुको भनाइ छ । पन्ध्र वर्षका उमेरदेखि मिथिलाको लोकनाच गर्दै आएका सिरहा कल्याणपुर नगरपालिका–८ तिलासीका ६५ वर्षीय फनिराम रजक नाच कम्पनी बन्द भएपछि अहिले बेरोजगार भई घरमै बस्न बाध्य भएका छन् । यसको एउटै कारण हो, मिथिलाको ग्रामीण संस्कृति र लोकगाथासँग जोडिएको नाच लोप हुँदै जानु । यस्ता नाच लोप हुनथालेपछि यसमा आवद्ध भएका कलाकार बेरोजगार भई हातमुख जोर्न धौधौ हुनपुगेको छ ।

पहिला पहिला विबाह, धार्मिक पर्व तथा व्रत पूजाहरुमा रातभरि यस्तो नाच नाचिने गरेको उहाँको भनाइ छ । अहिले यस्ता पाठपूजा व्रतमा समेत छाडा हिन्दी। भोजपुरी र नेपाली गीतहरु बजाउँदा पुरानो संस्कृति र परम्परा नै लोप हुँदै गएको उहाँले बताउनुभयो ।

प्रदेश नं २ को आठ जिल्लामा करीब ५०० भन्दा बढी नाच कम्पनी रहेकामा कालान्तरमा आएर ती नाच कम्पनी बन्द हुन थालेपछि यसका कलाकार विस्थापित हुन थालेका छन् । नाच कम्पनी बन्द हुन थालेपछि करीब दुई हजार भन्दा बढी कलाकार विस्थापित भई अन्य पेशातर्फ आकर्षित हुन थालेका छन् । आधुनिक शिक्षाको प्रचारप्रसारको कारण कलाकार शहरमुखी भएको, वैदेशिक रोजगारमा जाने क्रम बढदै गएको, कलाकारको अभाव हुनु, सिडी, टेलिभिजन, नेट तथा मनोरञ्जनका नयाँनयाँ प्रविधिको विकास भएकाले कालान्तरमा मिथिलाका लोकनाच लोप हुन थालेको छ । उपप्राध्यापक तथा मैथिली विषयका ज्ञाता श्यामसुन्दर शशीले राससलाई भन्नुभयो, “मौलिक संस्कृतिको साधनका रुपमा रहेको लोकनाचसँगै लोकबाजासमेत लोप हँुदै जानु चिन्ताको विषय भएकाले यसको संरक्षण र सम्वद्र्धनमा स्थानीय सरकारले ध्यान दिनुपर्दछ ।”

“मिथिला लोक संस्कृतिसँग जोडिएका यस्ता नाचको संरक्षणमा स्थानीय तथा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्दछ”, साहित्यकार तथा लेखक चन्द्रकिशोर झाले भन्नुभयो, “यस्ता नाचले समाजमा एकखालको सकारात्मक सन्देश दिनुका साथै धार्मिक ग्रन्थमा भएका विषयका बारेमा समेत ज्ञान दिने गरेको थियो ।” स्थानीय कला, संस्कार र संस्कृति स्थानीय सरकारको सम्पत्ति भएकाले त्यसलाई जोगाउनका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

यस्ता नाचमा पुरुष कलाकार हुने गरेको र पुरुष वैदेशिक रोजगारको क्रममा खाडीमूलुक जाने परम्पराले गर्दा कलाकारको अभावमा समेत नाच प्रभावित हुनपुगेको भनाइ नाच कम्पनीको छ । यस्ता नाच ग्रामीण क्षेत्रमा लोकप्रिय रहेको छ । ग्रामीण क्षेत्रको लोकगाथा, जीवन र संस्कृतिसँग जोडिएका यस्ता नाच प्रायःगरी बिवाह, व्रतबन्धलगायत माङ्गालिक कार्यक्रममा नाच्दा रु तीन लाखसम्म पारिश्रमिक पाउने गरेको स्थानीय कलाकारको भनाइ छ । अहिले ९९ प्रतिशत नाच कम्पनी बन्द हँुदा उनीहरु बेरोजगार भई अन्य वैकल्पिक पेशा अगाल्दै गएका छन् ।

मिथिलाको ग्रामीण जीवन, लोक संस्कृति, माटो र पानीसँग जोडिएका यस्ता लोक तथा मौलिक नाचको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने माग मिथिलावासीको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.