घटस्थापनासहित जमरा राखी बडादशैँ शुरु

बडादशैँको पहिलो दिन घटस्थापनामा काठमाडौँको बसन्तपुरस्थ्ति दशैँघरमा जमरा राखिदै । तस्बिर: रोशन सपकोटा

काठमाडौँ, १ कात्तिक : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन हिन्दू नेपालीका घरघरमा घटस्थापनासहित जमरा राखी बडादशैँ शुरु भएको छ । बिहान ११ः४६ बजेको शुभसाइतमा घटस्थापना गरी दशैँघर वा पूजाकोठामा जौ रोपेर जमरा राखेपछि आजदेखि नेपालीको महान् पर्व शुरु भएको हो । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ ।

दुर्गापक्षको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । पूजाकोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाारम्भ भएको छ । पूजाकोठा वा दशैँघरमा नवरात्रभर देवीको आराधना गरिन्छ ।

जौको अङ्कुर दुर्गाको प्रिय वस्तु भएकाले आज यव रोपण गरी उनलाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।

देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिका प्रतीकका रुपमा पूजााराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीक चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तबीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गरिन्छ ।

दशैँको पहिलो दिन घटस्थापनामा काठमाडौँको बसन्तपुरस्थित दशैँघरमा जमरा राख्ने साइतमा बढाई दिँदै नेपाली सेना । तस्बिर: रोशन सपकोटा

शैलपुत्रीको पूजाराधना 

दुर्गा पक्षको पहिलो दिन आज शैलपुत्रीको आह्वानसहित विशेष पूजा गरिएको छ । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गरिन्छ । दुर्गाका यिनै नौ रुपलाई नवदुर्गा पनि भनिन्छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै देवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ । दुर्गापूजा र दशैँपर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजााराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सबैजसो मन्दिर बन्द छन् । शक्तिपीठमा नित्यपूजा भने गरिने जनाइएको छ ।

हनुमानढोकामा घटस्थापनासहित पूजा

परम्परानुसार काठमाडौँको हनुमानढोका दरबारस्थित दशैँघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गाको पूजााराधना शुरु भएको छ । आज बिहान चित्रा नक्षत्रको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताउनुभयो ।
दशैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजाराधना शुरु भएको छ । यस वर्ष महानवमीका दिन हनुमानढोकाको कोतमा दिइने ५४ बोका र ५४ राँगासहितको बलि भने कोरोनाका कारण स्थगन गरिएको जनाइएको छ ।

रोजगारी, अध्ययन एवं अन्य कामविशेषले आफ्नो घर बाहिर रहेका मानिसहरु दशैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादशैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ ।

पूजाकोठा वा दशैँघरमा आज विधिपूर्वक राखिएको घडको जलले विजयादशमीका दिन अभिषेक गरी समृद्धिको प्रतीक जमरासहित मान्यजनबाट टीका लगाइन्छ । टीका लगाउनेक्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: