चारुमती विहारमा अन्तरराष्ट्रिय त्रिपिटक वाचन

काठमाडौँ, २५ माघ : नेपाल भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवद्र्धन गर्न चाबहिलस्थित चारुमती विहारमा अन्तरराष्ट्रिय त्रिपिटक वाचन गरिएको छ ।

स्वदेशी तथा विदेशी भिक्षुले बौद्ध साहित्यका केही वाक्यांशलाई सामूहिकरूपमा पाली भाषामा पाठ गरी विश्व शान्ति तथा राष्ट्रिय कल्याणका लागि कामना गरिएको हो ।

चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इण्डो चाइना फ्रेण्डसीप एशोसिएशनको संयुक्त आयोजनामा भएको कार्यक्रममा करीब दुई हजार ३०० वर्ष पुरानो मानिएको उक्त विहार खचाखच भरिएको थियो । नेपालबाट थेरवाद, महायान र बज्रयान सम्प्रदायका करीब १५० बौद्ध गुरु तथा भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यान्मा, कम्बोडिया र लाओसका ७० बौद्ध गुरुको सहभागिता थियो । बौद्धधर्मको पुरानो ग्रन्थ त्रिपिटक तीन भागमा छन् । त्रिपिटक पाली भाषामा लेखिएको महत्वपूर्ण ग्रन्थ हो । यो अन्य भाषामा अनुवाद गरिएको छ ।

शाक्यमुनि बुद्धले बोधिसत्व प्राप्त गरेपछि जीवनको अन्तिम समयसम्म दिएका प्रवचन तथा उपदेशलाई बौद्ध शिक्षाका रूपमा सङ्कलन गरिएकाले यसलाई पवित्र कृतिका रूपमा लिइएको छ । उक्त कार्यक्रमका प्रचारप्रसारका लागि साइकलयात्रा र पदयात्रा आज बिहानै गरिएको थियो । विहार परिसरमा त्रिपिटक वाचनका लागि समारोहस्थल चिटिक्क पारिएको थियो भने आसपास क्षेत्रमा सरसफाइ गरी मालाले ढकप्प पारी सिङ्गारिएको थियो ।

कार्यक्रमका संयोजक भिक्षु तपस्सी धम्मले यस किसिमको कार्यक्रमले विभिन्न मुलुककाबीच धार्मिक सद्भाव कायम भई बुद्धको शान्ति र अहिंसाका लागि दिएको सन्देश अन्तरराष्ट्रिय तहमा फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुुभयो । कार्यक्रमको प्रचारप्रसारबाट देशविदेशका बौद्ध धर्मावलम्बीको ध्यानाकर्षण गरी स्वदेशमा धार्मिक पर्यटन अभिवृद्धि हुने विश्वास लिइएको छ । यही माघ २६ गते सांस्कृतिक तथा प्रवज्या कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.