कात्तिक नाचको पाँचौं दिन : महामूर्ख नाटक मञ्चन

ललितपुर, १९ कात्तिक : ललितपुरको लोक प्रसिद्ध परम्परागत तथा ऐतिहासिक ३७९ वर्ष पुरानो कात्तिक नाचको आज पाँचौं दिन बाथःप्याखँ (महामूर्ख) नाटक मञ्चन भएको छ । पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ ७ बजेदेखि कात्तिक नाच हुँदै आएको छ । सो नाचको पाचाँै दिन आज बाथःप्याखँ (महामूर्ख) नृत्य वा नाटकको संवाद मञ्चन गरिएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बाथःप्याखँ (महामूर्ख) नाटकको दिनमा आज तीनै जान दाजुभाइको एकै स्थानमा भेट हुन्छ । कानको कुण्डल बेच्ने क्रममा ‘हामीलाई किन बेचिस्’ दाजुहरुले भाइलाई प्रश्न गर्छन्, पछि उनीहरुबीच कुरा हुन्छ । ‘हामी जनमानसलाई शिक्षा दिन मत्र्यलोक आएका हौँ । यसमा विवाद नगरौँ’ यी तिनै जान दाजुभाइ कुरा गरेर बसेको ठाउँमा एक ब्राह्मण आउँछन् । उनीहरुले ढोग भनेपछि ती ब्राह्मणले ‘तीनै जनालाई एकैपटक भाग्यमानी होस्’ भन्ने आशिष दिन्छन् ।”

नाटकको दृश्य उहाँका अनुसार उनीहरु तीनै जनाले ‘कसलाई आशिष दिएको हो’ भनी ब्राह्मणसँग प्रश्न गर्छन् । ब्राह्मणले, ‘जो तिमीहरुमा महामूर्ख छांै’ उसैलाई आशिष दिएको भन्छन् । तँभन्दा ‘म महामूर्ख, हैन म महामूर्ख’ भन्ने क्रममा उनीहरुबीच फेरि झगडा पर्छ । महामूर्ख पत्ता लगाउन उनीहरु तीनै जना मिलेर कृष्णको द्वारकामा जान्छन् । कृष्णको द्वारकामा कोटवालले ‘आफू आफू मूर्ख हुँ’ भन्ने प्रमाण दिन आग्रह गर्छन् ।

माइला भाइले आफू भाइहरुसँग छुटेपछि भएको घटना सबै सुनाउँछन् । यसैगरी समा जेठा दाजुले पनि भाइहरुसँग आफू छुटेपछिको सबै कथा सुनाउँछन् । अन्तमा कान्छो बाथः भाइले पनि दाजुहरुसँग छुटेपछिको सबै कुरा सुनाएपछि कोटवालले ‘दुईवटा श्रीमती राजा, देवेता, दानव, दैत्य सबैका थिए । पछि पनि हुनेछन् यो कुनै नौलो कुरा रहेन’ भन्छन् ।

यसैगरी राम्री स्त्रीमाथि राजा, देवेता, दानव, दैत्य सबै मोहित भएका थिए र पछि भविष्यमा पनि हुनेछन् त्यसैले यो पनि कुनै नौलो कुरा भएन तर ‘अर्काकी प्रेमिका त्यसमाथि अर्काकी गर्भवती स्त्री पत्नीका रुपमा न पहिला कसैले ल्याएका थिए । न पछि कसैले नै ल्याउनेछन्’ त्यसैले तिमीहरु तीनमध्ये कान्छो बाथः महामूर्ख हो भनी कोटवालले प्रमाणित गर्छन् । किंवदन्तीअनुसार जो पहिले सबैभन्दा निकै बाठो थियो, त्यो नै अन्तिममा सबभन्दा मूर्ख साबित हुने नृत्य वा नाटक र संवादमा मञ्चन गरिने समितिले जानकारी दिएको छ ।

यही कात्तिक १५ गतेदेखि शुरु भएको कात्तिक नाचको पहिलो दिन सुदामा प्याखँ, दोस्रो दिन भक्त सुरदास प्याखँ र तेस्रो, चौथो र पाचाँै दिन तीनजना दाजुभाइको कथामा आधारित बाथ प्याखँ नाच वा संवाद मञ्चन भइसकेको छ । विगतका वर्ष कात्तिक कृष्ण प्रतिपदादेखि कात्तिक शुक्लपूर्णिमासम्म देखाइने सो नाच यस वर्ष कात्तिक शुक्लपञ्चमीदेखि शुरु भएर कात्तिक पूर्णिमाको दिनसम्म १२ दिन देखाइने भएको समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिनुभयो ।

विसं १६९७ मा पाटनका मल्लकालीन राजा सिद्धिनरसिंहले अघि बढाएको सो नाच सत्रौँ शताब्दीमा शुरु भएको थियो । कात्तिकनाच विष्णु पुराणमा आधारित भएर विष्णुको अवतार नृसिंह, राजा हिरण्यकश्यपु र विष्णु भक्तप्रल्हादको कथामा आधारित भएर पनि नाचिने गरिन्छ । नाचको माध्यमबाट समाजमा रहेका मानिसबीच जीवन उपयोगी विभिन्न धार्मिक नाटकको प्रस्तुतिलाई शिक्षा र चेतनामार्फत प्रदान गरिने जानकारहरुको भनाइ रहेको छ ।

उपत्यकाको तीनै शहरबाट साँझमा कात्तिक नाच हेर्ने थुप्रै मानिस पाटन भित्रिने गरेका छन् । पाटनमा कात्तिक नाच हेर्न आउने मानिसको ठूलो भीड लाग्ने गरेको छ । कातिक नाच अवधिभर गरिने नृत्य वा संवाद र नाटकमा खिँ, द्याः दमोखि, मृदङ्ग, जोर नगरा, ताः झ्याली र भुस्या बाजा बज्ने समितिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.