आजदेखि श्रीस्वस्थानी व्रत प्रारम्भ, शालीनदीमा माधवनारायण मेला

काठमाडौं, २२ पुस : आज देखि श्रीस्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा भक्तिपूर्वक श्रीस्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । श्रीस्वस्थानी व्रतका बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ ।

काठमाण्डौँस्थित शालीनदीमा प्रत्येक वर्ष पूर्णिमादेखि सुरु हुने माधवनारायण मेला पनि आजबाट सुरु भएको छ । श्रीस्वस्थानी व्रत कथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार  तपस्या गरी मनोकाङ्क्षा पूर्ण भएको कथासँग जोडिएको छ । शिव-पार्वतीको विवाह भइसकेपछि लोककल्याणका निम्ति परम्परागत रुपमा सोही व्रत कथा प्रचलन हुदै आएको मानिन्छ । 

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेलाको पहिलो दिन शालीनदीमा स्नान गरि पूजा गर्दै ब्रतालु । तस्वीर: आदित्य दाहाल

घरपरिवारको सुस्वास्थ्य र सुख शान्तिको कामना गर्दै शालीनदीमा महिलासँगै पुरुषसमेत व्रत बस्ने परम्परा छ । १ महिनासम्म विशेष पौराणिक कथा सुनेर व्रत बसिने श्रीस्वस्थानीप्रति नेपाली नारीहरूको अहिले पनि उत्तिकै लगाव र विश्वास रहेको छ । खास गरेर श्रीस्वस्थानी एउटा प्रेममूलक पौराणिक धर्मग्रन्थ पनि हो ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार ब्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र) को राजा भएको कथासमेत श्रीस्वस्थानीमा वर्णन गरिएको छ। त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ ।

माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन् ।

आजैबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.