सीको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा : मुख्यमन्त्री पोखरेल

बुटवल, २८ असोज : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणबाट नेपाल र चीनबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । उहाँले चिनियाँ राष्ट्रपतिको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ ढङ्गले अघि बढ्ने बताउनुभयो ।

चीनको छेन्दूमा विकास र सहकार्यका लागि बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उहाँले नेपाल र चीनबीचको लामो मैत्रीपूर्ण सम्बन्धले आपसी हित र सहकार्यमा फाइदा पुगेको र आगामी दिनमा सहकार्य अझ फराकिलो हुने विश्वास व्यक्तगर्नुभयो ।

“दुई मुलुकबीच भाइभाइको सम्बन्ध छ, त्यहीअनुसार सहकार्य र सहयोग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “हिमाल र नदीले जोडिएका दुई मुलुकबीचको सम्बन्ध राष्ट्रपतिको भ्रमणले अझ बलियो भएको छ ।”

उहाँले छिमेकको विकासलाई साथसाथै अघि बढाउन चीनले अघि सारेको बीआरआईप्रति नेपालले समर्थन गरिसकेको स्मरण गर्दै विकास र सहकार्यका लागि बीआरआई महत्वपूर्ण रहेको बताउनुभयो ।

सम्मेलनमा सहभागीहरुलाई मुख्यमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा स्वागत गर्न चाहेको बताउँदै बौद्ध दर्शनको उद्भवस्थल लुम्बिनी भ्रमणका लागि अनुरोध गर्नुभयो ।

सिचुवान प्रान्त र प्रदेश ५ बीचको भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको र यो सम्बन्धले अनुभव आदानप्रदान र धेरै क्षेत्रमा ढोका खोलेको उहाँले बताउनुभयो । सिचुवान र प्रदेश ५ बीच तीन महीनाअघि भगिनी सम्बन्ध कायम गर्ने समझदारीमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.