मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित

भीमफेदी, १० भदौ : प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकले ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७६’ र ‘प्रदेशसभा नियमावली, २०७४ लाई पहिलो संशोधन गर्न बनेको नियमावली, २०७६’ लाई सर्वसम्मतिबाट पारित गरेको छ ।

बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक र प्रदेशसभा नियमावलीको पहिलो संशोधन गर्न बनेको नियमावली कार्यदलका संयोजक रामेश्वर फुयाँलले पारित गर्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा विधेयकमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै सामाजिक विकासमन्त्री दुलालले हेटौँडा अस्पताललाई भविष्यमा गुणस्तरीय उपचार सेवा प्रदान गर्न एवं सबै प्रदेशका विद्यार्थीलाई चिकित्सक विज्ञान अध्ययन गर्न निष्पक्षका साथ सुविधा उपलब्ध गराइने विश्वास दिलाउनुभयो ।

उक्त बैठकको विशेष समयमा बोल्नु हुने प्रदेशसभाका सदस्यहरुले काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाबाट यथाशीघ्र आन्तरिक व्यवस्थापन मिलाएर स्थानीय उपभोक्ताहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रदेश सरकारले छिट्टै केन्द्रीय सरकारसँग समन्वय गर्नुपर्ने र दशैँ पछाडि नै काठमाडौँमा खानेपानी उपलब्ध गराउन माग गर्नुभयो ।

उहाँहरुले प्रदेशसभाको गठन भएको डेढ वर्ष बितिसक्दा पनि प्रदेशको स्थायी राजधानीको लागि टुङ्गो लगाउन सरकारले तत्काल आत्मसमीक्षा गरी राजधानीको छिट्टै टुङ्गो लगाउन आग्रह गर्नुभयो ।

प्रदेश सरकारले चालू आवको बजेटमा हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जोड्ने र भीमफेदी–काठमाडौँ जोड्ने सुरुङ मार्गको निर्माणका लागि नीति कार्यक्रममा समावेश गरी पारित गरिएकामा अहिलेसम्म ती योजनाहरुलाई निर्माण कार्यको लागि के के प्रक्रिया शुरु भयो भनी उहाँहरूले प्रश्न गर्नुभयो ।

बैठकको विशेष समयमा बोल्नु हुने सदस्यहरुमा वसन्त मानन्धर, दीपेन्द्र श्रेष्ठ, सरेश नेपाल, न्हुछेनारायण श्रेष्ठ, जगतबहादुर सिंह, नरोत्तम वैद्य, विराजभक्त श्रेष्ठ, गीता वाग्ले, सृजना सैँजु, जुनेली माया श्रेष्ठ, शान्तिप्रसाद पौडेल, नारायणबहादुर सिलवाल, बुद्धिमान माझी र रामेश्वर फुयाँल हुनुहुथ्यो ।

प्रदेशसभाको अर्को बैठक यही भदौ ११ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.