प्रदेशका जनताको स्वास्थ्यको जिम्मेवारी सरकारले लिन्छ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

विराटनगर, ९ चैत : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको स्वास्थ्यको जिम्मेवारी प्रदेश सरकारले लिने बताउनुभएको छ । प्रदेश सरकार र नेपाली सेनाको मोरङको सूर्यदल गण थलहाद्वारा मोरङको मिक्लाजुङ गाउँपालिका–४ को टाँडीमा रहेको नेपाली सेनाको ब्यारेकभित्र निर्माण गरिएको एक सय पालभित्र दुई श्ययाको क्वारेन्टाइन घरको आज निरीक्षण गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले प्रदेश सरकारले कोभिड–१९ बाट सङ्क्रमित जनताको सम्पूर्ण स्वास्थ्य उपचार निःशुल्क गर्ने भन्दै त्यसलाई आवश्यक पर्ने स्वास्थ्य उपकरणको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ नियन्त्रण गर्न प्रदेशअन्तर्गतका भारतसँग सीमा जोडिएका सम्पूर्ण नाकामा आवागमनमा कडाइ गर्ने जानकारी दिँदै त्यहाँका चेकपोष्टहरुलाई कडाइ तथा प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । प्रदेश सरकारले कोभिड–१९ नियन्त्रणका सम्वन्धमा बनाएको कार्ययोजनाको कार्यान्वयन तीव्र गतिमा भइरहेको बताउनुभयो ।

प्रदेशमा निर्माण हुने ५० श्य्याको आइसोलेशन वार्डको निर्माण एक हप्ताभित्रमा सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको मुख्यमन्त्री राईले जानकारी दिनुभयो । उहाँले आज बसेको सुरक्षा समितिको बैठकमा विराटनगरको रानी तथा काँकरभिट्टा नाकालाई व्यवस्थित र जाँचमा कडाइ गर्ने निर्णय गरिएको बताउँदै तेस्रो देशका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको बताउनुभयो ।

मुख्यमन्त्री राईले भारतीय सीमा जोडिएका छ नाकाका सम्बन्धमा आगामी दिनमा आवश्यकता हेरी केही बन्द गर्न सकिने पनि धारणा व्यक्त गर्नुभयो । सीमा नाकाबाट आउने नेपालीमा कोभिड–१९ को सङ्क्रमित देखिएमा क्वारेन्टाइन स्थलसम्म पु¥याई आवश्यक उपचारको व्यवस्था सरकारले गर्ने विचार व्यक्त गर्नुभयो ।

प्रदेशका नागरिकलाई कोभिड–१९ को सङ्क्रमणबाट बचाउन उच्च प्राथमिकतामा राखिएको र प्रदेशका आवश्यकताअनुसार क्वारेन्टाइन र आइसोलेशन वार्ड निर्माण गरिएको उहाँको भनाइ थियो ।

सूर्यदलका प्रमुख सेनानी रघु पौडेलले क्वारेन्टाइनमा राखिने नागरिकलाई सम्पूर्ण सुविधा निःशुल्क उपलब्ध गराउनाका साथै चिकित्सकसहितको सुरक्षाको उचित व्यवस्था पनि गरिएको जानकारी दिनुभयो । क्वारेन्टाइन घर निरीक्षणमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र पूर्वीपृतनापति अनन्त कार्की सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.