विद्युत् विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २० भदौ : प्रदेशसभाको आज बसेको बैठकमा ‘विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश नं.१ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०७(२) बमोजिम मुख्यमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव पेश गर्नुभएको थियो ।

मन्त्री कार्कीले कुनै एक प्रदेशको सवारी प्रदेश नं.१ मा छ महीनाभन्दा बढी राखेमा दर्ता गर्नुपर्ने बताउनुभयो । प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफलमा प्रदेशसभाका सदस्यहरुले उठाउनुभएको जिज्ञासाको जवाफमा उहाँले दुर्घटनाका कारण मृत्यु भएमा सङ्घीय कानूनअनुसार नै क्षतिपूर्ति पाउने जानकारी दिनुभयो ।

उहाँले सुरक्षा, प्रदूषण र राजश्वको विषयमा विधेयकमा स्पष्ट गरिएको छ भन्दै ई–रिक्साको नवीकरण र दर्ता स्थानीय तहबाट नै गरिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

अवकाश प्राप्त अस्थायी शिक्षकलाई पुनः काममा लगाउनुपर्ने

प्रदेशसभा सदस्य अम्बिका थापाले बैठकको शून्य समयमा अस्थायी शिक्षकहरु विद्यालयबाट अवकाश प्राप्त गर्दा फेरि सो विद्यालयमा अस्थायी शिक्षकहरु भर्ना भइरहेकाले उमेरका हद पार नगरेका त्यस्ता शिक्षकलाई काममा लगाउनुपर्ने सुझाव दिनुभयो । सदस्य उत्तमकुमार बस्नेतले सोलुखुम्बुमा जनस्वास्थ्य क्षेत्रका धेरै भवनहरु निर्माणमा ढिलाइ भइरहेकाले स्थानीय जनता सेवा सुविधाबाट वञ्चित भइरहेका प्रति प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य नवोदिता चौधरीले सुनसरीको धरानमा गएराति भएको बम विष्फोटनले शान्ति सुरक्षाप्रति सरकारले कडा कदम चाल्नुपर्ने माग गर्नुभयो । सदस्य वसन्तीदेवी यादवले शहर सफा सुग्घर राख्न सार्वजनिक शौचालय बनाउन प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

अर्का सदस्य राजकुमार ओझाले अहिले पनि किसानले सर्वसुलभ तरिकाले रासायनिक मल नपाइरहेको चर्चा गर्नुभयो । सदस्य रामबहादुर मगरले कृषिमा बाँडिने अनुदान साना वा तल्ला तहका किसानले पनि पाउनुपर्ने माग गर्दै प्रदेश नं.१ को सबै निर्वाचन क्षेत्रमा बराबरी कृषि अनुदान वितरण गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभाको अर्को बैठक भदौ २२ गते आइतबार अपराह्न २ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.