अध्यक्ष प्रचण्ड र मोदीबीच भेटवार्ता, धार्मिक शक्तिपीठको ‘सर्किट’ बनाइने

भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ताका क्रममा

काठमाडौँ, २३ भदौ : भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको उक्त भेटमा उहाँहरुबीच पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीको भ्रमण, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणका सम्भावनाबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

नेपालमा जलविद्युत्को विकास, हुलाकी मार्ग, रेलवे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्रको विकासको विषयमा समेत उहाँहरुबीच छलफल भएको थियो ।

धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठको एक बृहत्तर ‘सर्किट’ बनाउने र सगरमाथाको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने बारेमा पनि छलफल भएको थियो ।

सो अवसरमा उहाँहरुबीच नेपाल–भारत सीमामा बेलाबखतमा देखिने समस्याको समाधान र सीमा क्षेत्रका भन्सारको स्तरोन्नतिको विषयमा पनि विचारविमर्श भएको थियो ।

दुई देशको आपसी हितलाई कसरी थप सुदृढ गर्ने भन्ने विषयमा छलफल गर्दै उहाँहरुले पछिल्लो चरणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा भएका सकारात्मक समझदारी र सहमतिलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने बारेमा गम्भीर छलफल भएको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीका रुपमा भारतको भ्रमण गर्दा भारतले गर्ने भनिएको सहयोगलाई मूर्त रुप दिने सम्बन्धमा पनि छलफल भएको थियो । प्रधानमन्त्रीका रुपमा अध्यक्ष दाहालको भ्रमणका क्रममा कास्की जिल्लामा पोलिटेक्निकल इस्टिच्युट स्थापनामा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

करीब एक घन्टा भएको भेटवार्तामा उहाँहरुले दुई देशको आपसी सम्बन्धलाई नयाँ उचाईमा उठाउने प्रतिबद्धता र संकल्प गर्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री सिंहसँग पनि भेटघाट

भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय काँग्रेस पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता गर्नुहुँदै ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय काँग्रेस पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच पनि भेटवार्ता भएको छ ।

सो अवसरमा सिंह भारतको प्रधानमन्त्री हुनुभएका बेला नेपालसँग भएका समझदारी, छलफल र नेपालमा शान्ति प्रक्रियालाई अगाडि बढाउन उहाँको नेतृत्वको सरकारबाट भएको सहयोगप्रति अध्यक्ष दाहालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माण भई सकेपछि विकास निर्माणतर्फ ध्यान केन्द्रित गरेकाप्रति नेता सिंहले खुसी व्यक्त गर्नुभएको थियो । भारतीय काँग्रेस पार्टी सरकारमा नभए पनि नेपालको विकास निर्माणमा आफूहरुको पूर्ण सहयोग रहने उहाँले विश्वास दिलाउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग पनि आजै भेटवार्ता गर्नुभएको थियो ।

विदेश मन्त्रालयमा भएको सो भेटमा उहाँहरुबीच नेपालमा दुईतिहाईको सरकार बनेपछि नेपाल–भारत सम्बन्धमा भएका विकासका प्रयासबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शनिबार भारतीय विदेश मन्त्रालयमा भेटवार्ता गर्नुहुँदै ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2023. All Rights Reserved.