रामपुरमा फोहोर प्रशोधन गर्ने मेसिन संचालन

फोहोरजन्य पदार्थ प्रशोधन गर्ने मेसिन संचालन विधिबारे जानकारी दिनुहुँदै सुर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठ र उद्यम चौतारी प्रालीका प्रबन्ध निर्देशक रिखिराम पौडेल । तस्विर: सुशिला रेग्मी

सुशीला रेग्मी । रामपुर (पाल्पा), १ कात्तिक : पाल्पाको रामपुर नगरपालिका भित्र निस्कने फोहोरजन्य पदार्थ प्रशोधन गर्ने मेसिन संचालनमा ल्याइएको छ ।

उक्त मेसिनको शनिवार नगर प्रमुख रमणबहादुर थापाले वैदिक विधि अनुसार शुभारम्भ गर्नुभएको हो । नगरपालिका परिषरमा राखिएको मेसिनको बडादशैको घटस्थापनको शुभ साइत पारेर मेसिन उद्घाटन गर्दै नगर प्रमुख थापाले रामपुर नगरपालिका भित्र अव्यवस्थित रुपमा फालिएका कुहिने फोहोरजन्य पदार्थलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गर्ने बताउनुभएको छ । उहाँले केही समयका लागि नगरपालिका परिषरमा परिक्षण गर्ने र दीर्घकालीन रुपमा पछि अन्यत्र जग्गा व्यवस्थापन गरी काम गर्दै जाने बताउनुहुदै रामपुरको मुख्य समस्या पोहोरलाई मोहोरमा परिणत गर्ने लक्ष्य रहेको बताउनुभएको छ । मेसिन शुभारम्भ गरी नगर प्रमुख थापाले नगरका विभिन्न बजारबाट संकलन गरी ल्याइएका कुहिने फोहोजन्य पदार्थ मेसिनमा राखेर फोहोर प्रशोधन मेसिन संचालन कार्य सुरु भएको छ ।

वैदिक विधि अनुसार मेसिन उद्घाटन गर्दै नगर प्रमुख रमणबहादुर थापा । तस्विर: सुशिला रेग्मी

रामपुर नगरमा फालिएका फोहोजन्य पदार्थमध्ये कुहिने फोहोरलाई मेसिनबाट प्रशोधन गरी प्राङ्गारिक मल निकाल्ने र अन्य फोहोरजन्य सामग्रीलाई बिक्रि गरी नगरको आयस्रोत भित्र्याउने लक्ष्य रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले जानकारी दिनुभएको छ । रामपुर नगरपालिकाले उद्यम चौतारी प्राली र सूर्योदय क्लव स्याङ्गजाको सहकार्यमा फोहोरमैला व्यवस्थापनको काम सुरु भएको हो । सुर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठ र उद्यम चौतारी प्रालीका प्रबन्ध निर्देशक रिखिराम पौडेलले मेसिन संचालन प्रबिधिबारे सहजिकरण गर्नुभएको हो ।

फोहोर प्रशोधन मेसिनबाट एक पटकमा पाँच क्वीन्टल फोहोरजन्य पदार्थलाई मेसिनले प्रशोधन गरी करिव १५ देखि २० प्रतिशत मल उत्पादन गर्न सकिन्छ । मासुजन्य, हड्डी जस्ता पदार्थ प्रशोधन हुनका लागि करिव २० घण्टा समय लाग्छ भने अन्य फोहोरजन्य पदार्थ करिव १० घण्टा देखि १५ घण्टा सम्ममा प्रशोधन भई मल उत्पादन गर्न सकिने उद्यम चौतारी प्रालीका प्रबन्ध निर्देशक रिखिराम पौडेलले बताउनुभएको छ ।

फोहोरजन्य नकुहिने पदार्थलाई बिक्रि गरेर राम्रो कमाई गर्न सकिने सुर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठ बताउनुहुन्छ । केही समय अगाडी रामपुरमा फोहोरमैला व्यवस्थापनमा समस्या भन्ने शीर्षकमा मिडिया मिसन नेपाल डटकमलगायतका सञ्चार माध्यमा समाचार प्रकाशन तथा प्रसारण भएपछि रामपुरमा फोहोरमैला व्यवस्थापनको काम भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: