भारतबाट स्वदेश फर्कने यात्रुको चाप

कञ्चनपुरको पश्चिमी नाका गडडाचौकी राखिएको हेल्प डेस्कमा शनिबार स्वास्थ्य परीक्षणका लागि व्यवस्था गरिएको लाइन । भारतको विभिन्न स्थानबाट स्वदेश फर्किदै गरेका नेपालीलाई कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न डेस्क राखिएको छ । तस्बीरः शेरबहादुर सिंह

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, ८ चैत : कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी भएर भारतबाट फर्कने यात्रुको भीड लागेपछि आज बिहानैदेखि सवारीसाधन बन्द गरिएको छ ।

भारतीय पक्षले भारततर्फ जाने सबै सवारीसाधन र नेपाली यात्रुलाई जानबाट रोकेको छ । भारतबाट नेपाल प्रवेश गर्नेलाई भने जान दिइएको छ । नेपालबाट भारततर्फ जाने भारतीय नागरिकलाई मात्रै भारततर्फको नाका प्रवेश गर्न दिइएको छ । भारतले कोरोना भाइरस रोकथामका लागि नागरिक कफ्र्युको घोषणा गरेपछि मजदूरीका लागि भारतमा रहेका नेपाली स्वदेश फर्कन थालेका छन् ।

सीमानाकामा निकै भीड रहेकाले सवारीसाधनलाई सीमानाका प्रवेश गर्नबाट रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताउनुभयो । आज बिहान मात्रै झण्डै तीन हजार बढी यात्रु एकै पटक भारतबाट नेपाल फर्केको बताइएको छ ।

अझै सीमानाकामा निकै भीड रहेको छ । विगत तीन दिनदेखि सीमानाकामा नेपाल फर्कने यात्रुको निकै चाप रहेको छ । सीमानाकामा राखिएको हेल्थ डेस्कमा समेत स्वास्थ्यकर्मीलाई स्वास्थ्य जाँच गर्न निकै कठिनाइ भएको छ । भीमदत्त नगरपालिकाका स्वास्थ्यकर्मीसँगै नेपाली सेनाको स्वास्थ्यकर्मीको पाँचको टोलीसमेत खटिएको छ ।

शुक्रबारदेखि नेपाली सेनाको टोलीले सीमानाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्कने यात्रुको स्वास्थ्य जाँच गरी रहेको छ । भारतले नेपाली सवारीसाधनलाई निकटवर्ती बजार वनबासा र नेपालले भारतीय सवारीसाधनलाई भीमदत्त नगरसम्म मात्रै सञ्चालन गर्ने व्यवस्था गरेका छन् ।

मुख्यमन्त्री भट्टद्वारा हेल्थ डेस्कको अनुगमन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले त्रिनगरभन्सार नाकामा राखिएको हेल्थ डेस्कको अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री भट्टले आज नेपाल भारतको सीमावर्ती गौरीफन्टा नाकामा नेपाल आवतजावत गर्ने नेपालीको अवस्था बुझ्नुभएको थियो ।

आज भारतका विभिन्न शहरमा मजदूरी गरी घर फर्किरहेका नेपालीसँग कुराकानी गर्दै मुख्यमन्त्री भट्टले अति जरुरी कामबाहेकको अवस्थामा आवतजावत नगर्न आग्रह गर्नुभयो । उहाँले कोरोनाको संवेदनशीलता बुझेर त्यसअनुरुपको सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री भट्टले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज र गेटा आँखा अस्पतालको निरीक्षण गर्नुभयो । उहाँले आइसोलेसन कक्ष कम भएको खण्डमा सो कक्ष स्थापनाका लागि गेटा मेडिकल कलेज र गेटा आँखा अस्पतालको निरीक्षण गरेको जनाइएको छ । मुख्यमन्त्री भट्टसँगै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको पनि निरीक्षणमा सहभागिता रहेको थियो ।

कम्तीमा एक सातासम्म भारत नजानुस्ः प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सरकारले कम्तीमा एक सातासम्म भारत नजान नेपाली नागरिकलाई आग्रह गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार रातिसम्म मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण तथा निर्देशक समितिले सुदूरपश्चिम प्रदेशका सीमा नाकाबाट कम्तीमा एक हप्तासम्म भारत नजान आग्रह गर्ने निर्णय गरिएको हो ।

बैठकमा एक सातासम्म भारत नजान सबैमा आग्रह गर्ने, सीमा नाकामा स्थापना गरिएका स्वास्थ्य सहायता कक्षलाई थप प्रभावकारी बनाउने निर्णय भएको बताइएको छ । त्यस्तै बैठकमा कोरोना भाइरसको सङ्क्रमण फैलिएमा उपचारका लागि आवश्यकपर्ने पूर्वतयारीका विषयमा समेत छलफल भएको थियो ।

मुख्यमन्त्री भट्टले कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक कदम चाल्न सरोकारवालालाई निर्देशन दिनुभयो । प्रदेशस्तरीय कोरोना नियन्त्रण समितिका अध्यक्षसमेत रहेका मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा कोरोना सम्भावितका लागि उच्च निगरानी कक्ष थप्ने निर्णय भएको बताउनुभयो ।

प्रदेशका नौवटै जिल्लामा केही निगरानी कक्ष भए पनि कैलालीको धनगढी र महेन्द्रनगरमा थप केही निगरानी कक्ष अर्थात् आइसोलेसन वार्ड थप्ने तयारी भएको जनाइएको छ । त्यसै भारतसँग सीमा जोडिएका स्थानीय तहका प्रमुखलाई सीमानाका आवातजावतमा कडाइ गर्न आग्रह गरिएको छ । मुख्यमन्त्री भट्टले कोरोना नियन्त्रणका लागि तीनै तहका सरकारले आवश्यक रकमको व्यवस्था गर्नेे बताउनुभयो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको सङ्क्रमण फैलिन नदिन तथा फैलिएमा कसरी व्यवस्थापन गर्न भन्ने विषयमा बैठकमा छलफल भएको जनाइएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले पछिल्लो समय गड्डाचौकी हुँदै भारतका विभिन्न शहरबाट नेपाल आउने नेपालीको सङ्ख्या उच्च रहेकाले भारतसँग सीमा जोडिएका नाकामा निगरानी गर्न सकेमात्रै पनि धेरै हदसम्म कोरोना भाइरस नियन्त्रण गर्ने सकिने बताउनुभयो ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.