आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन मङ्गलबारदेखि 

काठमाडौँ, २५ कात्तिक : आप्रवासी कामदारको मानव अधिकार संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन मङ्गलबारदेखि काठमाडौँमा शुरु हुँदैछ । तीन दिनसम्म चल्ने सो सम्मेलनमा ३० मुलुकका ६२ भन्दाबढी प्रतिनिधि सहभागी हुने राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

सम्मेलनमा मानवाधिकारका लागि विश्वव्यापी सञ्जाल, भारत, बङ्गलादेश, माल्दिभ्स, मलेसिया, कतार, थाइल्याण्ड, मङ्गोलिया, दक्षिण अफ्रिका, केन्यालगायत श्रमिक लिने र आपूर्ति गर्ने मुलुकका मानवअधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

सम्मेलनमा विभिन्न पाँच विषयमा विज्ञसहित छलफल हुनेछ । आयोगका अनुसार ‘आप्रवासन सुशासन र आप्रवासी कामदारका अधिकार’, ‘निष्पक्ष र जिम्मेवार कामदारको भर्ना’, ‘अनियमित आप्रवासन’, ‘आप्रवासी कामदारको न्यायमा पहुँच’ र ‘आप्रवासी कामदारको अधिकार प्रवद्र्धन र संरक्षणमा विश्वव्यापी सञ्जालसँगको सहकार्य’ विषयमा गम्भीर छलफल हुनेछ ।

नेपाल सरकारको आर्थिक सहयोगमा हुने सम्मेलनमा अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ), अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम), संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सहजीकरण गर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.