वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध

सञ्चिता घिमिरे । काठमाडौँ, ३१ साउन : वर्षाका कारण हुलाकी राजमार्ग, महाकाली राजमार्ग, बेनी–जोमसोम–कोरेला सडक, साँफेबगर–मार्तडी सडकलगायत सडक अवरुद्ध छन् । सडक विभागले बाढी र पहिराका कारण अवरुद्ध कतिपय सडक खुलाइरहे पनि कतिपय स्थानमा अघिल्लो महिनादेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन ।

साँफेबगर–मार्तडी सडक बाजुराको अम्कोट द्वारीखण्डमा आइतबारदेखि अवरुद्ध छ । बूढीगङ्गा नदीको बहाबले झण्डै पाँच सय मिटर सडक क्षतिग्रस्त अवस्थामा रहेको डिभिजन कार्यालयले जनाएको छ । सो सडकका कतिपय खण्ड असारदेखि अवरुद्ध रहेकामा अझै खुल्न सकेको छैन । कतिपय खण्ड यस साताको वर्षाका कारण अवरुद्ध छ ।

बेनी–जोमसोम–कोरोला सडक म्याग्दीको दाना र गलेश्वरमा अवरुद्ध थियो । म्याग्दीकै काभ्रेभीर र घोप्टेभीरमा पनि सडक अवरुद्ध छ । यही साउन १० गते सडक माथिबाट आएको पहिराले बेलिब्रिज बगाएको थियो । सो राजमार्गको रुप्सेमा निर्माणाधीन पुलको जग पुरिएको छ । सो सडक नजीक राखिएको एस्काभेटर, नजिकैको घर र बससमेत बगेका थिए । नच्र्याङ तातोपानीमा निर्माणाधीन पुल र डाइभर्सन पनि पहिराले बगाएको थियो ।

अविरल वर्षका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ६ चार किलोमा खसेको पहिरो । पूर्ण रुपमा अवरुद्ध भएको सडकको पहिरो पन्छाइँदै । तस्वीरः कृष्ण आचार्य

महाकाली राजमार्गको सतबाँझ–दार्चुला खण्ड यही साउन ६ गतेदेखि अवरुद्ध छ । भारी वर्षापछि पहिरो र अत्यधिक वर्षाका कारण सडक अवरुद्ध बन्न पुगेको छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाअन्तर्गत अर्घाखाँचीको निगाली –देउराली सडक अवरुद्ध छ । सो सडकका ठाउँठाउँमा सानाठूला पहिरो गएकाले उपलब्ध उपकरणबाट सडक खोल्ने काम भइरहेको विभागले जनाएको छ ।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीअन्तर्गत कृष्णनगर र सोनापफाँटा सडक अवरुद्ध छ । बेंसीशहर –चामे सडकको घोप्टे खोलामा हिमपाइप बगाउँदा सडक अवरुद्ध बनेको छ । खोड्पे–बझाङ सडकअन्तर्गत जालिबगरमा सडक अवरुद्ध छ । भारी वर्षापछि सेती नदीको पानीले ३० मिटर सडक नै बगाएको थियो । सो सडकमाथि पहाड र तल नदी भएकाले अलिेसम्म सडक अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत दलाङ अहिले अवरुद्ध छ ।

साँफे मार्तडी सडक खण्डको सेराबगरदेखि बाजुराको सदरमुकाम मार्तडीसम्मको सडक क्षेत्रमा पहिरोको जोखिम देखिएको छ । बर्षाद शुरु भएसँगै पहिरो बग्न थालेपछि सडक जोखिममा परेको छ । भने आवत जावत रोकिने संभावना बढेको छ । तस्विर: गंगराज पण्डित

सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले सडक वा पुल नै बगाएका स्थानमा बाहेक पहिरो हटाएर सञ्चालन गरिँदै आएको बताउनुभयो । उहाँका अनुसार पूर्णरुपमा सञ्चालन हुन नसकेका सडक पनि एकातर्फको अवरोध हटाएर आंशिक रुपमा सञ्चालन गरिएको छ । उहाँले भन्नुभयो, “विभागअन्तर्गतका डिभिजनहरु जेठदेखि नै तयारी अवस्थामा छन् ।”

अरनिको राजमार्गको झण्डै १५ स्थानमा सडक एकातर्फबाट सञ्चालन भइरहेको छ । कोशी राजमार्ग, बेंसीशहर–चामे सडकका विभिन्न खण्ड, कान्ति लोकपथ, नारायणगढ–मुग्लिन सडकको १९ किलोलगायत सडक पनि अहिले आंशिक रुपमा सञ्चालनमा छन् । त्यस्तै सिद्धिचरण राजमार्गको सिस्नेरी भीर र साल्मे भीरखण्ड, मलेखु–मुग्लिन सडकको जोगीमारा र मौवाखोला सडक पनि आंशिक रुपमा रुपमा सञ्चालनमा छ । लेगुवा –भोजपुर सडक र सिद्धिचरण राजमार्गका विभिन्न खण्ड, बिपी राजमार्ग र सिद्धार्थ राजमार्गका विभिन्न खण्ड पनि वर्षाले अवरुद्ध भएकामा आंशिक रुपमा सञ्चालनमा छन् ।   

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.