कोरोना उपचार कोषमा रकम जम्मा गर्न सरकारको अनुरोध 

काठमाडौँ, १० चैत : सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्न अनुरोध गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव राजेन्द्रकुमार पौडेलले आज सूचना जारी गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को सङ्क्रमण फैलिन नदिन तथा सोको रोकथाम एव नियन्त्रणका लागि इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको खातामा रकम जम्मा गर्न अनुरोध गर्नु भएको हो ।

सरकारले सिंहदरबारमा खोलेको खाता नम्बर १९६०००००११०१ रहेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सो कोष खडा गर्ने निर्णय गरेको हो । सो कोषमा मन्त्रीहरुले एक महिनाको तलब बराबरको रकम राख्ने निर्णय भइसकेको छ ।

सभामुखको एक महिनाको पारिश्रमिक केन्द्रीय राहत कोषमा

सभामुख अग्निप्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउनुभएको छ । विपद्सँग जुध्न कोष स्थापना गर्ने सरकारको निर्णयको स्वागत गर्दै उहाँले आफ्नो पारिश्रमिक कोषमा जम्मा गर्ने व्यवस्था गर्नुभएको हो ।

संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामार्फत् सो रकम कोषमा जम्मा हुनेछ । सरकारले कोरोना (कोभिड–१९) विरुद्ध लड्न पूर्वतयारी स्वरुप आइतबार केन्द्रीय राहत कोष खडा गरेको थियो ।

यसैबीच, सभामुख सापकोटाले संघीय संसद् सचिवालयमा तयार गरिएको ‘आइसोलेसन’ वार्डको आज अनुुगमन गर्नुभएको छ । सिंहदरबारस्थित संसद् सचिवालयको १ नम्बर भवनमा तयार गरिएको आइसोलेसनको अनुुगमन गर्दै उहाँले सबै खाले तयारीमा जुट्न सचिवालयका कर्मचारीलाई निर्देशन दिनुुभयो ।

कोरोना भाइरस सङ्क्रमित भेटिए अस्पताल पु¥याउनुअघि वार्डमा राख्ने व्यवस्था गरिएको संसद् सचिवालयअन्तर्गतको स्वास्थ्य एकाइका चिकित्सक पुस्पराज रिजालले जानकारी दिनुभयो ।

राष्ट्रियसभा अध्यक्षको एक महिनाको पारिश्रमिक कोषमा

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरसविरुद्ध जुध्न सरकारले बनाएको केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउनुहुने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कोष स्थापनाको निर्णय गरेको थियो । सो कोषमा अध्यक्ष तिमिल्सिनाले आफ्नो एक महिनाको तलब दिने घोषणा गर्नुभएको हो । उहाँले संघीय संसद् सचिवालयको आर्थिक शाखालाई पत्रमार्फत आफ्नो एक महिनाको तलब कोषमा जम्मा गरिदिन निर्देशनसमेत दिनुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले सरकारको कोष बनाउने निर्णयको स्वागत गर्दै विश्वमा देखिएको सन्त्रासमा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गर्नुभएको छ । उहाँले सरकारले कोरोनाबाट बच्नका लागि दिएका निर्देशनहरु पालना गर्न सबैलाई आग्रहसमेत गर्नुभएको छ ।

प्रम सचिवालय सदस्यबाट एक महिनाको तलब कोषमा

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यले ‘कोरोना भाइरसको सङ्क्रमणविरूद्ध विशेष कोष’ मा एक महिनाको पारिश्रमिक दिनुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोषलाई सहयोग गर्नका लागि सचिवालयमा रहेका सबैले एक महिनाको तलब दिने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सचिवालयमा रहेका ६ जनाले एक महिना र तीन जनाले आधा महिनाको पारिश्रमिक बराबर रकम दिने हुनुभएको छ । मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशङ्कर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले कोषमा एक महिनाको तलब दिनुहुने छ ।

यसैगरी सचिवालयमा रहनुभएका विकास पूर्वाधारविज्ञ गजेन्द्र थपलिया, सञ्चारविज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महिनाको तलब दिनुहुने छ ।

ग्लोबल आइएमई बैंकद्वारा रु एक करोड १५ लाख सहयोग

ग्लोबल आइएमई बैंकले कोभिड–१९ विरुद्ध लड्न नेपाल सरकारले घोषणा गरेको ‘कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा रु एक करोड योगदान गर्ने निर्णय गरेको छ । सोही प्रयोजनका लागि बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम कोष’मार्फत रु १५ लाख आर्थिक सहयोगसमेत उपलब्ध गराउने निर्णय गरेकोे बैंकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ले आम विश्वसमुदायलाई त्रसित बनाइरहेको र नेपाल पनि उच्च जोखिममा रहेको अवस्थामा यस योगदानबाट कोभिड–१९ भाइरसविरुद्ध लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ । बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको र आगामी दिनमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने बताएको छ ।

निर्माण व्यवसाय विकास परिषद्ले रु एक करोड दिने

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को रोकथाम र उपचारका लागि निर्माण व्यवसाय विकास परिषद्ले रु एक करोड दिने निर्णय गरेको छ । परिषदमा अध्यक्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसहित हुनुहुन्छ ।

सरकारले स्थापना गरेको कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सो रकम जम्मा गरिने परिषद्ले जनाएको छ । परिषद्को गत बुधबार बसेको बैठकको निर्णयानुसार सो रकम जम्मा गरिएको सदस्य सचिव सहसचिव गोपालप्रसाद सिग्देलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । परिषद्मा पूर्वाधार निर्माणसम्बन्धी मन्त्रालय तथा निकायका प्रतिनिधि, नेपाल निर्माण व्यवसायी महासङघको प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.