महामारीमा ‘गिग इकोनोमी’ : जिविकोपार्जन जोगाउने उपयुक्त विकल्प

डा मान वहादुर बीके । काठमाडौं, १४ जेठ : अष्ट्रेलियाबाट नेपाल आएकि सुप्रिया महर्जन लकडाउनमा परेकोले फर्किन नपाए पछि त्यही बेलामा गहना व्यवसायमा लागेको एउटा फिचर स्टोरी केही दिन अघि सेतोपाटीमा छापिएको थियो। उनको त गहना व्यवसाय पुर्खौली भएकोले उक्त व्यवसायमा छिर्न त्यति कठिन भएन होला। उनले बजारीकरणलाई विद्युतीय बनाइन। यस्तै यो महामारीमा पनि व्यवसाय स्टार्ट अप गर्ने वा संकटकालिन अवस्थाको बजारले मागे अनुसार आफ्नो पेशा वा व्यवसायलाई तात्कालिन रुपमा समायोजन गर्ने युवा तथा व्यवसायी थुप्रै छन। लकडाउनको सबै भन्दा बढी असर यस्तै अनौपचारिक साना तथा मझ्यौला खाले व्यवसायलाई पर्दोरहेछ। तर यसरी व्यवसायलाई बजारको माग अनुसार समायोजन गरी ताजगी राख्नेमा ससाना देखि ठूला व्यवसाय सम्म छन। केही महिना अघि एउटा अटोमोवाइल्सका ठूला व्यापारीले सेनिटाइजरको व्यापारमा कैफियत गरेका कारण मुद्दा समेत खेप्नु परेको थियो। यही मौकामा मास्क र सेनिटाइजरका नयाँ उद्योग व्यवसाय पनि शुरु भए। नेपाली ब्राण्डका मास्कको अन्तर्राष्ट्रियकरण समेत भयो।

संकटकालिन अवस्था मानव सभ्यताका लागि घातक त हो नै तर यसले थप अवसर पनि ल्याएको हुन्छ। यसले एकातिर मानव सभ्यताको विकास के कति उत्थानशील (Resilience)  छ भन्ने जाँच गरेको हुन्छ भने अर्को तर्फ जीवन रक्षा र जिविकोपार्जन सुरक्षाका लागि नविनताको खोजि गर्न प्रेरित गर्छ। वास्तवमा यस्तो महामारीको अवस्थामा पनि यस्ता के कस्ता प्रयासहरु भए भन्ने खोजि गरी संप्रेषण गर्न जरुरी छ जसले गर्दा मानसिकरुपमा पीडा खेपेर बसिरहेका युवाहरुलाई उत्प्रेरणा बन्न सक्छ, ‘जीवन रक्षा र जिविकोपार्जन सुरक्षा‘ को आधारशिला बन्न सक्छ।

संकटको बेला जव नियमित पेशा वा व्यवसाय चल्दैन वा चलाउन सकिदैन त्यस्तो बेला बजारले खोजे जस्तो  पेशा वा काममा अस्थायी रुपमा संलग्न हुनुपर्ने अवस्थालाई गिग इकोनोमी (Gig Economy) भनिन्छ। यसको नेपाली शव्द भए जस्तो लाग्दैन तथापी यसलाई ‘मौकाको अर्थतंत्र’ भन्न उपयुक्त होला। वास्तवमा उद्यमशिलता वा व्यवस्थापनका विद्यार्थीलाई जुनसुकै व्यवसायिक योजना वा रणनीति बनाउन सिकाउँदा जोखिमको आकलन महत्वपूर्ण मानिन्छ र जोखिमको प्रतिकार्य गरी व्यवसायलाई गति दिन बैकल्पिक क्रियाकलाप र व्यवसायिक विविधीकरणको समेत योजना बनाइन्छ। भलै अहिलेको महामारी अकल्पनीय थियो तथापी व्यवसायका लागि संकट नियमित आकस्मिकता हुन। तसर्थ उद्यमशिलताको यो एउटा महत्वपूर्ण हिस्सा हो। जव यस्ता संकट देखा पर्छन, बजारमा वस्तु वा सेवाको मागको संरचनामा पनि परिवर्तन आउछ। ठूलो चुनौति भनेको नयाँ माग के सृजना भएको छ भन्ने पहिचान गर्नु हो। यस्तो बेला कतिपय नयाँ माग देखिदैनन अर्थात शुसुप्त (Latent) हुन्छन। कतिपय अवस्थामा वस्तु उत्पादन वा सेवा प्रवाह गरेपछि मात्र त्यस्ता माग (Supply induced demand) उजागर हुन्छन। तसर्थ यस्ता शुसुप्त वा लुकेका माग (Latent or Hidden Demand) प्रक्षेपण गर्न सक्नु नै यस्तो अर्थतन्त्रको ठूलो खुवी हो।

मेरो टोलमा एउटा केश काट्ने शैलुन थियो मधेश तिरका भाईहरुको जहाँ म नियमित केश काट्थे। लकडाउन हुने वित्तिकै दुईतिन दिन शैलुन बन्द भयो। तर केही दिन मै त्यो शैलुन अगाडि त भाईहरुले फलफूल बिक्रि गर्न थालेछन। विहान झिसमिसे मै कालिमाटी गएर ल्याउँदा रहेछन। टोल मै फलफूल पाउने भए पछि टोलबासीलाई पनि सजिलो। किन्नेहरुको संख्या पनि उल्लेख्य देखिन्थ्यो। चोकको किराना पसल लकडाउनले गर्दा बन्द भयो। लुकिछिपी खोल्दा पनि ग्राहक नआउने, प्रहरीले देखे गालि गर्ने मात्र हैन कारवाही नै गर्दो रहेछ। एक दिन तिनै साहूजीले घरको घण्टि बजाए। उनले त एउटा भ्यानमा सामान राखेर घरघरमा पुर्याएर बेच्ने काम पो थालेछन। यसो गर्दा दुइचार पैसा बढि लिए पनि कसैले अन्यथा मान्ने कुरा भएन। व्यापार राम्रो भएको झल्को दिने गरी मुस्कुराएर चाहिएको सामान टिपाउन फोन नम्वर भएको कार्ड थमाएर गए। तरकारी पसल कि बैनीले ठेलामा तरकारी राखी टोलटोलमा घुमाएर बेच्न थालिछन। एक दिन बिहान चोकमा माछा लिन निस्केको त एक जना बहिनी माछा बिक्री गर्न बसेको देखे। मोलतोल गरी माछा काट्दा सहजै अनुमान भयो उनी पेशेवर माछा व्यवसायी होइनन्। स्थानीय उनी पहिला अरु नै पेशामा संलग्न रहिछन। उक्त नियमित पेशा नचल्ने भएपछि चोक मै माछा बेच्न थालिछन। भन्दै थिइन अव त यही पेशा अगाल्नु पर्ला। अलि पर एक जना अधबैसे मान्छे बन्द सटरको अगाडि हरिया मकै बेच्न बसेका थिए। उनले वास्तवमा घर बनाउने काम गर्दा रहेछन। तर यो बेला घर बनाउने काम बन्द भए पछि डेरामा त्यसै बस्नु भन्दा यहा मकै बेच्न बसेका रहेछन। मैले सोधे मकै लिन त कालिमाटी जानुपर्छ होला? उनी भन्दै थिए “हैन, भ्यानले यही ल्याइदिन्छ“। अर्थात यस्तो “मौका अर्थतंत्र” को वितरण श्रृङ्खला पनि बनीसकेको रहेछ। त्यसको अलि पर एउटा व्युटिपार्लर रहेछ। पसल त बन्द थियो तर सटरमा होम सर्भिसका लागि फोन नम्वर र ईमेल लेखिएको ठूलो सुचना टासिएको थियो।

मेरा छिमेकि एउटा नाम चलेको होटलका सेफ हुन। होटल त बन्द भइहाल्यो तर उनले आफ्नै घरको ग्यारेजमा विहानै देखि विभिन्न परिकार वनाएर टोलमा सप्लाई गर्छन। मीठो खानाको आकर्षणले विहानै देखि छिमेकीहरु त्यही लिन आएको देखिन्छ। यो व्यवसायले उनका सबै परिवारलाई व्यस्त बनाएको छ। कतिपय बाँझो जग्गामा अहिले हरियाली देखिन्छन। यी मात्र हैन ठूला उद्योग व्यवसायले समेत यस्तो बेलामा आफ्नो उत्पादन लाइन बदलेको उदाहरण छन। सरकारले कोभिड-१९ संक्रमण रोकथामका लागि ‌औषधी उपकरण ल्याउन गरेको ठेक्का आव्हानमा भौतिक निर्माणको ठेक्कापट्टा गर्ने ठेकेदारलाई ठेक्का परेको समाचार सुनिएको थियो। यी सबै मौका अर्थतंत्रका उदाहरणहरु हुन।

गिग इकोनोमीका लागि सूचना प्रविधीको क्षेत्र अति नै उपयोगी छ। त्यसैले त यही मौकामा व्यापारका विभिन्न विद्युतीय प्लेटफर्महरु सृजना भएका छन। ती मध्य ‘ज्यापू’ ईकमर्स प्लेटफर्म एउटा हो। वास्तवमा यी सृजनाहरुले उपभोक्ताको व्यवहार (Consumer Behavior) मै परिवर्तन गरेको छ। विद्यालय र कलेजहरुले विद्युतीय तथा अन्य दूर शिक्षण विधी अवलम्वन गरेका छन् भने यस सम्बन्धी विभिन्न सफ्टवेयरहरु विकास भई उपलव्ध छन। जूम जस्ता विद्युतीय माध्यमबाट बैठक सभासम्मेलन गराउने एपहरुले त बजारमा तहल्कै मच्चाएका छन। अहिले लगानिका अन्य क्षेत्रहरु खुम्चिएको बेला विद्युतीय माध्यमबाट हुने भएकोले घर मै बसी शेयर कारोवार गर्नेहरुको संख्या बढ्दोछ भन्ने कुरा नेप्से परिसुचकले नै जनाएको छ। त्यसै गरी डेरिभेटिभ मार्केटमा वस्तु व्यापार (Commodity Trading) पनि घर मै बसी गर्न सकिने हुँदा यो पनि लगानीको सम्भाव्य क्षेत्र हुन सक्छ।

यसैगरी घर वरिपरि टिकटक बनाउँदा बनाउँदै कति युवायुवती टिकटक कलाकार नै भइसकेका छन भने नयाँ-नयाँ छोटा चलचित्रहरु पनि प्रशस्तै भेटिएका छन। उनीहरु ठूला पर्दाका कलाकार भन्दा कम छैनन्। एक जोडिले त एउटा धर्मग्रन्थलाई नै कलात्मक तरिकाले अडियोभिडियोमा रुपान्तरण गरिदिए जुन एक ताका सबैभन्दा बढि डाउनलोड हुने युट्युव सामाग्रीमा परेको थियो।

व्यवसायमा मात्र हैन यो त परोपकारी वा समाज सेवी संस्थामा झनै लागु हुदोरहेछ। कतिपय संघसंस्थाहरुले आफ्नो नियमित काम छोडी सडकमा उद्वारमा जुटेको त कतिपय अक्सिजन सिलिन्डरको खोजिमा लागेको हामी देखिरहेका छौ। मानवियता यी संस्थाहरुको जिम्मेवारी नै हो भने सामाजिक उद्यम जोगाउन पनि यसो गर्नुपरेको छ। कतिपयलाई सेवा सञ्चालनको खर्च जुटाउन समेत। हालै धुर्मुस-सुन्तली फाउण्डेशन पनि क्रिकेट रंगशालाको काम थाती राखी अक्सिजन सिलिन्डरको खोजिमा लागेको समाचार आएको थियो।

लकडाउनका कारण सहयोगी हातहरु आश्रममा आउन कम हुनेनै भयो। त्यसको विकल्प स्वरुप मानव सेवा आश्रम आफैले मास्क उत्पादन गरी बिक्री गर्न थालेको छ। आश्रित लक्ष्मिनारायणहरुका लागि सीप विकास पनि हुने भयो, आश्रमलाई आम्दानी पनि।

यस्तो अवस्थामा सबैभन्दा बढि ज्ञान सृजना हुने गर्दछ। यो समयमा कति पुस्तकहरु लेखिए होलान, कति साहित्य तथा कलाकृतिहरु सृजना भए होलान? म आफैले पनि करिव एक दर्जन कार्यपत्रहरु तयार गरे भने त्यतिकै संख्यामा लेखहरु प्रकाशित गरे जुन नयाँ विषय कोभिड-१९ संक्रमणको प्रभाव संवन्धी छन। यो अवधीमा विशेष गरी महामारीलाई प्रतिकार गर्ने तरिका, सामाजिक उत्थानशीलता, स्वास्थ्य सेवा लगायतका विभिन्न क्षेत्रमा ज्ञान उत्पादन भएका छन । जसको अस्तित्व दीर्घकालिन मात्र हैन अहरणीय तथा अविनासी हुन्छ। कतिपय तालिम केन्द्रहरुले अनलाइन तालिम तथा परामर्श उपलव्ध गराएर ज्ञान विस्तार गर्ने तथा सीपलाई पुनर्ताजगी (Reskilling) गर्ने कार्य गरेका छन। वास्तवमा कोभिड-१९ संक्रमणको महामारीले विश्व भरि नै जीवनयापन र जिविकोपार्जनमा नयाँ शैली कै विकास गरेको छ।

यसरी सामान्य अवस्थामा कहिले फर्किने भन्ने यकिन नभएको परिस्थितिमा ‘पर्ख र हेर’ को अवस्थामा बसी रहनु भन्दा मौकाको अर्थतंत्रमा आफुलाई समाहित गरी जिविकोपार्जनको सुरक्षा गर्नु नै श्रेयसकर हुन्छ। यसले एकातिर युवाहरुमा हौसला जगाइराख्छ भने आर्थिक क्षतिबाट पनि जोगाउछ। नियमित व्यवसायमा भन्दा यसमा अलि जोखिम त होला तर प्रतिस्पर्धा पनि तुलनात्मक रुपमा कम हुने हुँदा फाइदा पनि राम्रै हात लाग्न सक्छ। कतिले त यही मौका व्यवसायलाई नै आफ्नो नियमित व्यवसायको रुपमा स्थापित गरेको उदाहरणहरु पनि पाइन्छ। सबै भन्दा ठुलो कुरा व्यक्ति मानसिक रुपले चलायमान र सृजनशील रहिरहन्छ। अझै महत्वपूर्ण कुरा त यस्ता क्रियाकलापमा संलग्न हुनुले युवाहरुमा भविष्य प्रति आशा (Hope for future) जगाइराख्छ। महामारीको अवस्थामा देश कै अर्थव्यवस्था जोगाउनका लागि यो नै एक महत्वपूर्ण उपाय हो। तसर्थ सरकारले पनि यसतर्फ ध्यान दिनु जरुरी छ।

तथापी यस्तो बेलामा लुकेको अर्थात भूमिगत अर्थतन्त्र (D Economy) पनि सक्रीय हुने ठूलो सम्भावना हुन्छ। गिग व्यवसायीमा जिविकोपार्जन जोगाउने भन्दा पनि उपभोक्ताको वाध्यताको मनोबैज्ञानिक प्रयोग गरी नाफाखोरी हुने जस्तो अमर्यादित अभ्यास जाग्न सक्छ। शान्ति सुरक्षा कमजोर हुनेहुदा यो अवस्थामा विभिन्न अनैतिक, हिंसात्मक तथा अपराधिक क्रियाकलाप पनि बढ्न सक्छन। त्यसका लागि उपभोक्ता जागरुक हुने, नागरिक सचेत हुने, टोल सुधार समितिहरु सक्रीय हुने त छदैछ सरकारी तवरबाट निगरानी र परामर्शको सख्त आवश्यकता पर्दछ।

डा मान वहादुर बीके, नेपाल सरकारका पूर्व सचिव हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.