वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन

काठमाडौं, २३ बैशाख : वरिष्ठ  गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ ।

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको ८५ वर्षकाे उमेरमा आज निधन भएको छ । छातीमा समस्या देखिएपछि काठमाडौंस्थित न्यूरो अस्पताल भर्ना गरिएका उनको दिउँसो साढे १ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

“अचानक मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । उनको आजै अन्तिम संस्कार गरिने बताइएको छ ।

यसअघि उनलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि केहि दिन अघि मात्रै उनी डिस्चार्ज भएका थिए ।

२००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उनको औपचारिक संगीत यात्रा सुरु भएको हो ।

गोरेटो त्यो गाउँको’, घुम्तीमा नआउ है, नमान लाज यस्तरी, पर लैजाउ फूलहरु, तिमीलाई अचेल कहाँ भेटूँजस्ता लोकप्रिय गीतमा स्वर दिएका सिन्धुपाल्चोकको चौतारामा जन्मिएका गायक प्रधान ‘गोल्डेन भ्वाइस अफ नेपाल’ भनेर चिनिन्छन् ।

उनले नेपाली माइतीघर, जीवनरेखा, मायालु, बद्लिदो आकाश, जीवन संघर्षलगायत सिनेमामा समेत गीत गाएका छन् । प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.