सरकारले तोक्यो श्रमिकको न्यूनतम पारिश्रमिक, साउन १ गतेदेखि लागू हुने

काठमाडौं, २१ बैशाख : यही साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको छ ।

सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगान बाहेकका श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको हो । जसअनुसार श्रमिकको आधारभूत पारिश्रमिक मासिक नौ हजार तीन सय ८५ रूपैयाँ छ भने महँगी भत्ता पाँच हजार छ सय १५ गरी जम्मा १५ हजार रूपैयाँ कायम गरिएको छ ।

नयाँ व्यवस्था अनुसार श्रमिकले दैनिक ५ सय ७७ रूपैयाँ पारिश्रमिक पाउने छन् । जसमा तीन सय ६१ रूपैयाँ आधारभूत पारिश्रमिक र दुई सय १६ रूपैयाँ महँगी भत्ता रहने उल्लेख गरिएको छ ।

प्रतिघण्टाका दरले हिसाब गर्दा श्रमिकले ७७ रूपैयाँ पाउने छन्। जसमा ४८ रूपैयाँ आधारभूत पारिश्रमिक र २९ रुपैयाँ महँगी भत्ता रहनेछ ।

तोकिएको पारिश्रमिकका अतिरिक्त श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ र प्रचलित कानुनबमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदान लगायत सुविधा समेत रोजगारदाताले श्रमिकहरूलाई उपलब्ध गराउनु पर्नेछ ।

श्रमिकको पारिश्रमिक हरेक दुई-दुई वर्षमा पुनरावलोकन गरिँदै आएको छ । अघिल्लो वर्ष नै पारिश्रमिक पुनरावलोकन हुनुपर्ने भए पनि कोरोना महामारीको कारण देखाउँदै पुनरावलोकन गरिएको थिएन ।

यस वर्ष पनि कोरोना महामारीका कारण न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न नसकिएको भन्दै अन्तर्राष्ट्रिय श्रमिक दिवस, मे १ को अवसरमा मा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार पुर्‍याउने घोषणा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.