आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं, २० बैशाख : आज विश्व प्रेस स्वतन्त्रता दिवस, भर्चुअल कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ ।

दिवसको अवसरमा ‘सार्वजनिक सम्पतिका रुपमा सूचना’ भन्ने नारा तय गरिएको छ । दिवसको अवसरमा नेपाल पत्रकार महासंघले भर्चुअल माध्यमबाट कार्यक्रम गर्दैछ । बिहान ९ बजे भर्चुअल कार्यक्रम हुने महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । विगतका वर्षहरुमा प्रभातफेरी, विभिन्न अन्तरक्रियात्मक कार्यक्रम हुदै आएकोमा यो वर्ष कोरोना महामारीका कारण भर्चुअलमा सिमित हुने भएको हो ।

कोरोना संक्रमणका कारण सामूहिकरूपमा भौतिक सहभागिता जनाएर कार्यक्रम गर्न सम्भव नभएपछि महासंघले भर्चुअलरूपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको महासंघले जनाएको छ । अन्तरक्रियाकै क्रममा नेपालको यो वर्षको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्था समेटिएको प्रतिवेदन पनि सार्वजनिक हुँदैछ ।

यसैगरी नेपालका विभन्न तहमा बन्न थालेका नौ कानूनको मस्यौदामाथिको विश्लेषणात्मक टिप्पणीसमेत सार्वजनिक गरिँदैछ । महासंघका अनुसार नेपालमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरू यस वर्ष ४५ छन् । ती घटनाबाट ५ सय ८४ पत्रकार र तीन सञ्चारसंस्था पीडित बनेका छन् ।

यस्तै ५ सय ८४ पत्रकारमध्ये ७७ पत्रकारहरू महिला रहेका छन् । महासङ्घको अभिलेख अनुसार यस वर्ष ६ पत्रकार गिरफ्तारीमा परे भने कब्जा, अवरोधबाट चार पत्रकार पीडित भएका छन् । त्यसैगरी आक्रमणबाट ४८ र दुव्र्यवहार, धम्कीबाट १२ पत्रकार पीडित भएका छन् भने ५ सय १७ पत्रकार विस्थापनमा परेका छन् ।
दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै महासंघका अध्यक्ष विपुल पोख्रेलले कोरोनाको संक्रमणकाबीच पत्रकारिता कर्मलाई निरन्तरता दिनुपर्ने चुनौति रहेको बताएका छन् । उनले कोरोनालाई कारण देखाएर सञ्चारगृहबाट पत्रकारलाई विस्थापित गराउने खतरा पनि रहेको उल्लेख गरे ।

यसैबिच दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख अग्नि सापकोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण र मजबुत पक्ष भएको बताएका छन् । उनले नेपालमा लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा सञ्चार जगतले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।

संविधान सभामार्फत् जनताका प्रतिनिधिहरुद्वारा निर्मित संविधानले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेपश्चात यसको व्यवहारिक अभ्यासका क्रममा रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.