लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन: नियुक्त

काठमाडौं, १९ बैशाख : एकल बहुमतको सरकार बनाउन आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका नेकपा एमालेका नेता शंकर पोखरेल पुनः लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तीन वर्षअघि धारा १६८ ९२०अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान मात्र राजीनामा दिएका थिए । राजीनामा दिएलगतै उनले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

उनको शपथको समय भने तय भएको छैन । पोखरेलले बिहान राजीनामा दिएपछि बसेको एमाले संसदीय दलको बैठकले पोखरेलको नेतृत्वमा एकल बहुमतको सरकार बनाउने निर्णय गरेको थियो । सोही अनुसार पोखरेलले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.