च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीसँग पिएसजी पराजित

काठमाडौं, १६ बैशाख :  च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएको छ ।

बुधबार राति भएको खेलमा प्रिमियर लिग क्लब सिटीले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा फ्रान्सेली क्लब पीएसजीले मार्कुन्हाेसको गोलमा अग्रता लिएको थियो । एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै मार्कुन्हाेसले हेड गोलमार्फत पीएसजीलाई खेलको १५ औं मिनेटमा अघि बढाएका थिए ।

दोस्रो हाफमा डी ब्रुईनको गोलबाट सिटी खेलमा फर्किएको थियो । खेलको ६४ औं मिनेटमा ब्रुईनले पाहुना टोलीका लागि बराबरी गोल फर्काएका थिए । त्यसको ७ मिनेटपछि रियाद महरेजले गोल गर्दै सिटीलाई जित दिलाए । डिबक्स बाहिर प्राप्त फ्रिकिकमा उनले गोल गरेका हुन् ।

खेलको ७७ औं मिनेटमा पीएसजीका गना गयुये रातो कार्ड खादै मैदान बाहिरिएका थिए । खराब ट्याकल गरेको भन्दै रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए ।

सिटीविरुद्धको खेलमा पीएसजीका केलियन एम्बाप्पे फिक्का देखिए । उनले च्याम्पियन्स लिगका पछिल्ला ५ खेलमा ८ गोल गरेका थिए । तर सेमिफाईनलमा उनले एक प्रहार समेत पोस्ट लक्षित गर्न सकेनन् ।

पहिलो लेगमा प्राप्त जितसंगै सिटी सेमिफाईनलमा बलियो बनेको छ । घरेलु मैदानमा पहिलो लेगमै पराजित बनेपछि पीएसजीलाई दोस्रो लेगमा थप दबाब बढ्नेछ । प्राप्त जितले सिटीले फाईनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

योसँगै अब सेमिफाइनलको दोस्रो लिग मे ५ मा म्यान्चेस्टर सिटीको घरेलु मैदानमा हुनेछ ।

त्यस्तै यसअघि सम्पन्न पहिलो सेमिफाइनलको पहिलो लिगमा भने रियल म्याड्रिड र चेल्सी १-१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.