आज सेतो मच्छेन्द्रनाथको रथयात्रा

काठमाडौँको तीनधारा पाठशालाबाट सेतो मच्छिन्द्रनाथको रथ यात्रा गर्दै स्थानीय जात्रालु तथा गुठीयारहरु । तस्बिर: रत्न श्रेष्ठ

काठमाडौं, ७ बैशाख : वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबारबाट काठमाडौंमा सुरु हुँदै छ ।

रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ ।

रथयात्रा आज बेलुकी ६ बजे शुरु गरिन्छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगी राखिन्छ । असनमा आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम छ ।

रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । ३२ हात लामो रथलाई असन, बसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छेन्द्रबहालमा ल्याएर जात्रा सम्पन्न गरिन्छ ।

जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले जानकारी दिए ।

स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाउने गरी तयारी गरिएको छ । एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ ।

समितिका सचिव सुजीव बज्राचार्यले सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन कोरोना महामारीबाट बच्ने प्रयाप्त व्यवस्था गरिएको बताए ।

सेतो मछिन्द्रनाथको रथ काठमाडौँको जमलस्थित तीनधारा पाठशालाबाट मङगलबार असन तर्फ तान्दै । तस्बिर: रोशन सापकोटा

गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो ।

सेतो मच्छेन्द्रनाथको रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.