आज काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै

काठमाडौं, २९ चैत : काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा पर्व मनाइँदैछ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा एक दिन सार्वजनिक बिदा दिएको छ ।

चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोहकाे आयोजना गरेको छ । सो समारोहमा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गर्दछन् । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने गर्दछ ।

टुँडिखेलमा पूर्व-दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन शुरु भएको र त्यही प्रचलन अनुसार घोडेजात्रा मनाउन थालिएको जनश्रुति छ ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।  नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ ।

घोडेजात्राको अवसरमा सैनिक मञ्च टुडिखेलमा नेपाली सेनाका जवानवाट घोडचढी कला प्रस्तुत गर्दै । तस्बिर: प्रदीपराज वन्त

ललितपुर जिल्लामा भने एउटा आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.