‘आहा रारा गोल्ड कप’ : मनाङ-मर्स्याङ्दीलाई पराजित गर्दै संकटा सेमिफाइनलमा

काठमाडौं, २४ चैत : पोखरामा जारी १९ औ संस्करणको ‘आहा रारा गोल्ड कप’ प्रतियोगितामा मनाङ–मस्र्याङ्दीलाई पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको क्वाटरफाइनल खेलमा संकटाले मनाङमाथि १–० गोलले जित हासिल गरेको हो ।

संकटाको जितमा विदेशी खेलाडी फोफोनाले निर्णायक गोल गरेका थिए । उनले खेलको ४४ औं मिनेटमा गोलपोष्ट नजिकैबाट गोल गरेका थिए । संकटा क्लबले सेमिफाइनल प्रवेश गरेसँगै पोखरेली मैदानमा गर्विलो छवि बनाएको मनाङ मर्स्याङ्दी क्लब पहिलो खेलबाट गोल्डकप यात्राबाट विट मारेको छ ।

पोखराको मैदानमा आहा रारा गोल्डकपमा मनाङ मर्स्याङ्दीले ६ पटकसम्म विजयी भएर इतिहास रचेको थियो । डिफेन्डिङ च्याम्पियन समेत रहेको मनाङ मर्स्याङ्दीले संकटा विरुद्धको खेलमा भने गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा हारसँगै गोल्डकपबाट बाहिरियो ।

त्यसअघि मनाङले पहिलो हाफमा गोल गर्ने दुईवटा राम्रा अवसर गुमाएको थियो । तुलनात्मक रुपमा मनाङलाई केही दवावमै राखेको संकटाले दोश्रो हाफमा गोल गर्ने केहि अवसर गुमाएको थियो । प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनलमा मंगलबार थ्री स्टार र नेपाल पुलिस भिड्ने आयोजक सहारा क्लबले जनाएको छ ।

प्रतियोगितामा यसअघि सशस्त्र प्रहरीको एपीएफ क्लब र अफ्रिकन रुट सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रतियोगिताको उपाधि भिडन्त आगामी शनिबार हुनेछ । प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.