सहारालाई हराउँदै एपीएफ आहा रारा गोल्डकपको सेमिफाइनलमा
पोखरा, २१ चैत : विभागीय टिम एपीएफ क्लब १९ औ संस्करण औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शनिबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १-० गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो ।
एपीएफलाई जित दिलाउन आशिष लामाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८७ औं मिनेटमा आशिषले निर्णायक गोल गरे ।
प्रदिप लामाको पासमा डिबक्स भित्रबाट आशिषले उत्कृष्ट लेफ्ट फुटेट गोल गरेका थिए । आशिषको प्रहार सहाराका गोलकिपर दीप कार्कीले ठम्याउन सकेनन् ।
आशिष खेलको म्यान अफ दि म्याच समेत चुनिए ।
जितसँगै अन्तिम चारमा पुगेको एपीएफले फाइनल प्रवेशका लागि सोमबार हुने संकटा क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत आइतबार मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी ८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।