पाँच दशकअघि बन्देज लगाइएको खेसरी दालको उत्पादन र बिक्री किन रोकिएन ?

काठमाडौं, २१ चैत : सरकारले  खेसरी (दालको  जात)  उत्पादन  र  बिक्री  वितरणमा बन्देज  लगाएको  पाँच  दशक  बढी  भइसकेको छ  तर  अझै  यसको  उत्पादन  र  बिक्री  वितरण रोकिएको छैन ।

विश्व  स्वास्थ्य  सङ्गठन  (डब्लूएचओ)ले स्वास्थ्यका  लागि  हानिकारक  भनेर  प्रतिबन्ध लगाएको  खेसरी  नेपालको  तराईका  जिल्लामा अहिले  ठूलो  परिणाममा  उत्पादन  गरी  दाल, पापड र पकौडामा उपभोग गर्दै आएको पाइएको छ ।

खाद्य,  प्रविधि  तथा  गुण  नियन्त्रण  विभागले खाद्य  नियमावली  २०२७  आएदेखि नै नेपालमा खेसरीको  उत्पादन,  विक्रीवितरण  र  उत्पादनमा कानुनी रूपमै बन्देज लगाएको थियो ।

सिराहा औरही गाउँपालिका–५ का अगुवा  किसान  श्रीदेव यादवले  तराईमा  अहिले पनि  खेसरी  प्रत्येक  घरमा  उत्पादन  हुने  गरेको बताए । उनले भने, “तराईका कतिपय घरमा अहिले पनि खेसरी र मुसुुरो दाल मिसाएर खाने चलन छ । अझै बढी त खेसरीको पापड र पकौडा बढी खाने गरिन्छ ।”

उनका अनुसार तराईमा दालसहित खेसरी सागका  रूपमा  पनि  खाने  गरिन्छ । खेसरी उत्पादन  र  उपभोग  गर्न  नहुने  विषयमा  त्यस क्षेत्रका  स्थानीयवासीलाई  जानकारी  नै  नभएको पनि उनले बताए । उद्योग   वाणिज्य   सङ्घ   प्रदेश   २ का अध्यक्ष  ललित  शाहले  खेसरी  स्वास्थ्यका  लागि हानिकारक  भनिए  पनि  तराईका  ग्रामीण  क्षेत्रमा यसको  दाल  खाने  चलन  छ  तर  बजारतिर  भने त्यति धेरै नपाइने बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.