आज फागुन शुक्ल पूर्णिमा, किन फरक छ तराई र पहाडको होली ?

काठमाडौं, १५ चैत : आज रङहरुको पर्व फागु पर्व मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा फागु पर्व मनाइँदैछ ।

होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र पहाडमा आज होली मनाइने भए पनि तराईंका जिल्लाहरुमा भने भोलि सोमबार भव्यताका साथ मनाइन्छ ।

मुख्यगरी दुई दिन यो पर्व मनाउने गरिए पनि यसको औपचारिक सुरुआत भने होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ । यो वर्ष पनि यही चेत्र ८ गते बसन्तपुरमा चीर ठड्याएको थियो । उक्त चीरलाई आज टुँडिखेलमा विधिपूर्वक ढालेर जाइन्छ ।

यो वर्ष कोरोनाको दोस्रो लहर सुरु हुनसक्ने भन्दै ठूलो भीडभाड नगर्न र स्वास्थ्य सावधानीका उपाय अपनाएर मात्रै रङ खेल्न सरकारले आग्रहसमेत गरेको छ ।

‘विष्णुपुराण’ अनुसार, ‘दैत्यराज’ हिरण्यकश्यपुले आफ्नो राज्यमा ‘भगवान् विष्णु’ को पूजापाठमा प्रतिबन्ध लगाएर आफूलाई भगवान घोषित गरी प्रजालाई आफ्नो पूजा गर्न निर्देशन दिएपछि उनका आफ्नै छोरा प्रल्हादले त्यसको अवज्ञा गरेर भगवान विष्णुको पूजा गरिरहे । आफ्नै छोरा प्रह्लादले आज्ञा नमानेपछि हिरण्यकश्यपुले रिसले बहिनी ‘होलिका’ को माध्यमबाट प्रल्हादलाई जलाएर मार्ने प्रयास गरे । ‘ब्रह्मा’ बाट आगोमा नजल्ने ‘बरदान’ पाएकी ‘होलिका’ ले प्रल्हादलाई काखमा राखेर आगोमा बसिन् । तर, आगोमा उल्टै ‘होलिका’ नै जलेर भष्म भइन्, प्रह्लाद जीवितै रहे । त्यसैलाई होलिका दहन भनिन्छ र होलिका दहनको भोलिपल्ट रंग अबीर लगाएर होली खेल्ने गरिन्छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली ९फागु० खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

पहाड र मधेसमा किन फरक ?

सँस्कृतिविद रामभरोस कापरी ‘भ्रमर’ ले पहाडमा नेपाली पञ्चाङ्ग र मधेसमा मिथिला पञ्चाङ्ग अनुसार होली मनाउने भएको हुनाले फरक देखिएको बताए ।पहाड र मधेसको सँस्कृति फरक–फरक भएको हुनाले चाडपर्व मनाउने कुरामा फरक हुने बताउँदै कसको पालामा कुन पर्वको सुरुवात भयो, त्यसले पनि मनाउने समय फरक देखिने गरेको उनले बताए ।

कापरीका अनुसार मिथिलाका राजा हर्षवर्द्धनका पालादेखि परम्परागत रुपमा होली मनाउन सुरु गरिएको हो । तर, पहाड मध्यकाल अर्थात मल्लकालका राजाका पालादेखि मनाउन सुरु गरिएको हो । फरक– फरक समयमा सँस्कृतिको सुरुवात भएका कारण चाडपर्व मनाउनेदिन फरक परेको हो ।

फागुन शुक्ल पक्ष अष्टमीको दिन काठमाडौंको वसन्तपुरमा होलीको चीर खडा गरेपछि पहाडमा विधिवतरुपमा होलीको सुरुवात भएको मानिन्छ । फागुन शुक्ल पक्ष अष्टमीको दिनदेखि सुरु भएको होली पूर्णिमाका दिन सम्पन्न हुन्छ ।

तर, तराई मधेसमा वसन्त पञ्चमीका दिनदेखि नै होलीको सुरुवात हुन्छ र १५ दिनसम्म मनाइन्छ । अर्थात फागु पूर्णिमाको दिन होलिकाको दहन गरेपछि त्यसको खुसीयालीमा त्यसको भोलिपल्ट रंग अबीर खेलिन्छ र होली सम्पन्न हुन्छ ।

अर्का संस्कृतिविद् रामदयाल राकेशले भने तराई र पहाडमा फरक–फरक दिनमा किन होली मनाइन्छ भन्ने कुराको तुलनात्मक अध्ययन कहीँ नभएको बताउँछन् । फरक भुगोल र सँस्कृतिका कारण फरक फरक दिनमा मनाउने गरिएको उनी बताउँछन् ।

प्रत्येक संस्कृतिको आफ्नै महत्व, मौलिकता र सौन्दर्य हुने भएकाले त्यहीअनुसार आफ्नो रीति रिवाज अनुसार चाडपर्व मनाउने गरेको राकेशको तर्क छ । तराई र पहाडमा फरक–फरक दिनमा होली मनाउने कार्य परम्परादेखि नै हुँदै आएको बताउँदै यसलाई कसैले परिवर्तन गर्न नसक्ने उनले बताए ।

राकेशले भने, ‘तराई र पहाडमा फरक–फरक दिनमा मनाइने होली एकैदिन मनाउने कार्य अब सम्भव छैन । किनभने, यो एउटा संस्कृति बनिसकेको छ, यसलाई सबैले मानिसकेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.