संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला साहसिक : प्रचण्ड

काठमाडौं, ११ फागुन : नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई साहसिक कदम भनेका छन् ।

संसद् विघटन गर्ने सरकारको निर्णय उल्टाउने सर्वोच्चको फैसलापछि फेसबुक लाइभमार्फत प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । चितवनमा रहेका प्रचण्डले सर्वोच्चको फैसलाले आफूलाई गौरव अनुभुति भएको भन्दै प्रचण्डले देशव्यापी रुपमा विजय जुलुस निकाल्न सबैलाई आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम न्यायालयले खारेज गरेको भन्दै प्रचण्डले ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । ‘केपी ओलीको भ्रममा रहेका सबैलाई भ्रममुक्त हुन म आग्रह गर्दछु’, प्रचण्डले भने,‘ओलीको भुल भुलाएमा बस्नु आवश्यक छैन । सबैलाई मुल पार्टीमा आउन आग्रह गर्दछु ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले सरकारले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर गर्ने सर्वोच्च अदालतको निर्णयलाई ऐतिहासिक फैसला भएको जिकिर गर्दै संवैधानिक इजलासमा रहेका प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि खुसियाली मनाउन आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अदालतको फैसलासँगै अब ओली युगको अन्त्य भएको घोषणा समेत गरे । ‘सत्यको जीत भयो, न्यायको जीत भयो । नेपाली जनताको जीत भएकोमा हामी खुसी छौँ,’ उनले भने ।

‘कतै उज्यालो फैलिएको छ, कतै अन्धकार पनि होला । कतै साँझमा सूर्य उदाइ पनि रहेको छ, कतै अस्ताइ रहेको पनि होला । कतै खुसियाली छाएको छ, कतै मातम छाएको पनि होला,’ उनको भनाइ छ ।

नेपालले प्रधानमन्त्री केपी ओलीको पक्षमा भएका नेता–कार्यकर्ताहरुलाई आँखा खोलेर अब भ्रमबाट मुक्त हुन पनि आग्रह गरे । उनीहरुलाई आफ्नो पार्टीमा फर्कन आग्रह गर्दै नेता नेपालले भने, ‘ओली कम्युनिस्ट भन्न लायक थिएनन् अब लोकतन्त्रवादी लायक छैनन् । अब ओलीको पक्षमा भएका केही साथीहरुलाई मूल कम्युनिस्ट पार्टीमा फर्कन आग्रह गर्दछौँ । हामी स्वागत गर्नेछौँ । ढिला नगर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.