नेपाली कांग्रेसले आज देशैभर प्रदर्शन गर्दै
काठमाडौं, ३ फागुन : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शन गर्दैछ ।
संसद विघटनपछि चरणबद्ध आन्दोलनमा रहेको काग्रेसले आजको प्रदर्शनमा व्यापक सहभागिताका लागि आह्वानसमेत गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आजको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपिल पनि गरेका छन् ।
‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा छ । पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमकाविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु ।’ देउवाले भनेका छन् ।
जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् । पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् ।
यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् ।
नेपाली कांग्रेस एवं भ्रातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विरोध प्रदर्शन गरिसकेका छन् ।