ग्रिनलाइफको आईपीओमा १३ लाखभन्दा बढीको आवेदन
काठमाडौं, २७ माघ : ग्रिनलाइफ हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा करिब साढे २ अर्ब रूपैयाँको आवेदन परेको छ ।
कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्म कम्पनीको आईपीओमा १३ लाख ३७ हजार आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६ सय कित्ता सेयरका लागि कुल रकम २ अर्ब ३९ करोड ७६ लाख ६० हजार रूपैयाँको आवेदन परेको छ ।
कम्पनीले माघ २३ गतेबाट प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा ३४ करोड ९६ लाख ४० हजार रुपैयाँबराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन बिक्री खुला गरेको थियो ।
ग्रिनलाइफ हाइड्रोपावरले यसअघि आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको १८ लाख कित्तामध्ये बिक्री नभएको १६ लाख ९६ हजार ४०० कित्तासहित कुल ३४ लाख ९६ हजार ४०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् एक लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानीकोष र २ प्रतिशत अर्थात् ६९ हजार ९२८ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
आईपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर-एनपी बी प्लस (आईएस)’ प्रदान गरेको छ । यस क्रेडिट रेटिङले निष्कासनकर्ता वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँछ ।
कम्पनीले दोलखा जिल्लाको खानीखोला, हनापु खोला र नाप्के खोलाको पानीबाट ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । रन अफ रिभर आयोजनाको आयोजनाको कुल लागत ७ अर्ब ६५ करोड रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड १३ लाख ४७ हजार रहेको छ । यस्तै आयोजनाले २०७८ वैशाखबाटै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ भने आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१० वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १७.८९ वर्ष छ ।
२०६९ वैशाख २८ गते विद्युत् उत्पादन अनुमति प्राप्त गरेको कम्पनीको विद्युत् उत्पादन बहाल रहने अवधि २१०३ वैशाख २७ गतेसम्म रहेको छ ।
चालु आर्थिक वर्ष ०७७/७८ मा २ करोड ३७ लाख ४६ हजार सञ्चित नोक्सानमा रहने अनुमान गरेको कम्पनीले आगामी आर्थिक वर्ष ०७८/८९ मा १२ करोड ८८ लाख ७६ हजार र आर्थिक वर्ष ०७९/८० मा १२ करोड ८२ लाख ८४ हजार खुद नाफा आर्जन गर्ने अनुमान गरेको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्पापिटल मार्केट हो ।