माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, २७ माघ : सरकारले आगामी माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस वर्ष तामाङ र शेर्पाहरुले मनाउने सोनम र ग्याल्वो ल्होसार एकै दिन अर्थात माघ ३० गते परेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।

यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।

तर संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको छ । यसअघि माघे संक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो । तर पुस १५ मा मनाइएको तमु ल्होसारको दिन भने सरकारले सम्बन्धित जाती समुदायलाई मात्रै विदा दिएको थियो ।

सरकारले २०५१ सालदेखि सोनाम ल्होछारको दिन बिदा दिँदै आएको थियो । तर ओली नेतृत्वको सरकारले २०७४ सालदेखि सो दिनको बिदा कटौती गरेको थियो । सो वर्ष पुरै बिदा दिने गरिएका १० वटालाई आंशिक बनाइएको थियो भने १२ वटा बिदा पूर्णरुपमा कटौती गरिएको थियो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद बैठकले उक्त दिन सार्वजनिक विदा दिने निर्णय जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.