आज भारतबाट १० लाख कोरोना खोप काठमाडौँ आइपुग्दै

काठमाडौं, ८ माघ : नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।

स्वास्थ्य मन्त्रालयद्वारा गठित खोप सल्लाहकार समितिका संयोजकसमेत रहेका खोपविज्ञ डा. श्यामराज उप्रेतीका अनुसार भारतबाट अनुदानमा ल्याइने कोभिसिल्ड भ्याक्सिन प्रत्येक व्यक्तिलाई दुई मात्रा दिइन्छ ।

उनले भने, ‘प्रत्येक व्यक्तिलाई दुई मात्रा कम्तीमा चार हप्ताको फरकमा लगाउनुपर्छ । एकपटकमा ०.५ एमएल मात्रा लगाउनुपर्ने हुन्छ ।’ यो खोप व्यक्तिको पाखुरामा लगाइन्छ ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउन संयन्त्र तयारी अवस्थामा छ । खोप लगाउने ठाउँमा खोप लगाइसकेपश्चात् सो व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिनेछ । अवाञ्छित घटना घटे सम्बन्धित अस्पतालमा उपचार केन्द्र निर्धारण गरिने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान ११ बजे एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको पहिलो खोप आउने छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई खोप हस्तान्तरण गरिने छ ।

विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।

भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो ।

तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई खोप दिइने मन्त्रालयले जनाएको छ। १० देखि १५ दिनमा खोप लगाउन सुरु गर्ने योजना मन्त्रालयको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.