विश्वकै दोस्रो अग्लो माउन्ट केटुको आरोहण, १० नेपालीद्वारा रचे इतिहास
काठमाडौं, ३ माघ : नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी इतिहास रचेका छन् ।
नेपालबाट गएका १० पर्वतारोहीले शनिबार विश्वकै दोस्रो अग्लो पाकिस्तानको माउन्ट केटुको सफल आरोहण गरेका छन् । आरोहणसँगै उनीहरुले इतिहास पनि रचेका छन् ।
संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न सकेको थिएन । आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये यस शिखरमा हिउँद याममा आजसम्म कसैले आरोहण गर्न सकेका थिएनन् ।
नेपालका निर्मल (निम्सदाइ) पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले शनिबार साँझ त्यहाँको समयअनुसार पाैने छ बजे यो शिखर चुमेका हुन् ।
माउन्ट केटुको उचाइ ८ हजार ६११ मिटर छ । १० आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनबिनै आरोहण गरेका छन् ।
आधार शिविरमा रहेका सेभेन समिट ट्रेक्सका छाङदावा शेर्पाले आरोहणको सफलता पुष्टि गरेका हुन् । सुरुमा तीन वटा समूहमा विभाजित पर्वतारोही अन्तिममा एकसाथ शिखरमा पुगेका थिए ।