धर्मेन्द्रको गिरफ्तारीविरुद्ध विप्लवले गरे देशव्यापी प्रदर्शन र नेपाल बन्दको घोषणा

काठमाडौं, १ माघ : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्ना सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको विरोधमा संघर्ष गर्ने निर्णय गरेको छ ।

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ता धरपकडको विरोधमा देशव्यापी आन्दोलन गर्ने भएको छ । नेता तथा कार्यकर्ता रिहाइ नगरे माघ ३, ५, ७ र ९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र १० गते नेपाल बन्दको घोषणा गरेको छ ।

महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय समिति सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई प्रहरीले ललितपुरबाट पक्राउ गरेकोमा आपत्ति प्रकट गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रहरीले कञ्चनसहित ब्युरो सदस्य विवेक र विशाललाई पनि नियन्त्रणमा लिएको छ ।

जनताको अधिकार हनन्, भ्रष्टाचारलगायत राष्ट्रघातीविरुद्ध संघर्ष गरिरहेका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेर सरकारले राजनीतिक व्यवस्थको धज्जी उडाएको आरोप लगाएका छन् । उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध संघर्षर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो ।’

उनले सरकारको उक्त कार्य निरंकुश, तानाशाही एवं फासिस्ट प्रवृत्ति भएको दाबी गर्दै यसविरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी, बुद्धिजीवी र आमनागरिकलाई अपिल समेत गरेका छन् । ‘यो निरंकुश, तानाशाही एवं फासिस्ट प्रवृत्ति हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसखालको दमनका विरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी, बुद्धिजीवी र आमनागरिकहरूलाई हामी विशेष अपिल गर्दछौँ साथै हाम्रो पार्टीपंक्ति र श्रमिक जनतालाई गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ संघर्षमा अगाडि बढ्न निर्देशन गर्दछौँ ।’

केपी सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न जारी विज्ञप्तिमा उल्लेख छ । ‘राज्यको फासिस्ट दमनले न्यायपूर्ण संघर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्य स्पष्ट गर्दछौँ । केपी सरकारले बेलैमा यसलाई बुझोस् भन्ने हाम्रो कामना छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.