उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ

काठमाडौं, २९ पुस : गत असारको तुलनामा उद्योग व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको भए पनि उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ भएको निष्कर्ष निकालिएको छ ।

नेपाल राष्ट्र बैंकले ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन’अनुसार गत असारमा ४ प्रतिशत मात्र उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेकामा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेकोे छ । कोभिडका कारण अझै पनि ९.१ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएका छैनन् ।

सर्वेक्षण नतिजाअनुसार २०७७ असारको तुलनामा २०७७ मंसिरमा उद्योग व्यवसाय सञ्चालनमा सुधार आएको देखिएको छ । साथै असारको तुलनामा उद्योग व्यवसायको उत्पादन एवं कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत सुधार आएको देखिन्छ । यद्यपि कोभिड–१९ पूर्वको अवस्थामा उद्योग व्यवसाय सञ्चालन हुन भने सकेका छैनन् ।

उद्योग व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको पनि देखिएको छ । गत जेठ–असारमा गरेको अध्ययनमा औसतमा ६१.०३ प्रतिशत उद्योग व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेको उल्लेख थियो ।

आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.