युभेन्ट्सको जितमा रोनाल्डोको नयाँ कीर्तिमान
काठमाडौं, २७ पुस : इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले सासुओलोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
एरोन रामसे र क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम समयमा गोल गरेपछि युभेन्टसले १० खेलाडीमा सिमित सासुलोलाई हराउँदै इटालियन सिरिए एको उपाधि होडमा आफूलाई कायम राखेको छ ।
रामसेले ६ यार्ड टाढाबाट गोल गर्दै युभेलाई अग्रता दिलाए भने स्टपेज टाइममा गोल गर्दै रोनाल्डोले ३–१ का जीत सुनिश्चित गरे । पेड्रो ओबियाङले फेडेरिको किएसामाथि फल हानेपछि सासुलो दोस्रो हाफमा १० खेलाडीमा सिमित बनेको थियो ।
यसअघि डानिलोले युभेन्टसलाई अग्रता दिलाएका थिए । तर, सासुलोका लागि ग्रेगरी ड्रेफेलले बराबरी गोल फर्काएका थिए । युभेको यो लगातार तेस्रो जीत थियो ।
जीतसँगै युभेन्टस लिगको चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा युभेन्टस सात अंकले पछि रहेको छ । तर, मिलानभन्दा युभेले एक खेल कम खेलेको छ ।
अन्य खेलमा दोस्रो स्थानमा रहेको इन्टर मिलानले तेस्रो स्थानमा रहेको एएस रोमासँग बराबरी खेल्यो ।
रोनाल्डोको अर्को कीर्तिमान
रोनाल्डोले खेलमा यो सिजन आफ्नो १५ औँ गोल गरे । यो गोल सँगै ३४ वर्षीय पोर्चुगिज खेलाडी पछिल्ला १५ सिजनमा युरोपको शीर्ष पाँच लिगमा लगातार १५ गोल गर्ने पहिलो खेलाडी बनेका छन् । सन् २००६–०७ सिजन यता रोनाल्डोले हरेक सिजन कम्तिमा १५ गोल गर्दै आइरहेका छन् ।