चन्द्रागिरी हिल्सको सेयर आवेदन खुल्यो

काठमाडौं, २४ पुस : चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि सर्वसाधारणमा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँबराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । जसमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेर बाँकी १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

उक्त आईपीओ छिटोमा पुस २८ गते र उक्त समयमा पर्याप्त आवेदन नपरे माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । इच्छुक आवेदकले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ। यसले मध्यम स्तरको क्रेडिट जोखिम भन्ने बुझाउँछ ।

कम्पनीले यसअघि आयोजना प्रभावित काठमाडौं र मकवानपुरका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरिसकेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले काठमाडौं चन्द्रगिरि नगरपालिकामा केवलकार रिसोर्ट सञ्चालन गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.