उखु किसानको आन्दोलन स्थगित, २१ दिनभित्र उखुको बक्यौता भुक्तानी

काठमाडौं, १३ पुस : माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच चार बुँदे सहमित भएको छ ।

उखुको बाँकी भुक्तानी दिलाइदिन माग गर्दै माइतीघरमा १६ दिनदेखि आन्दोलतरत उखु किसान र सरकारी पक्षबीच चारबुँदे सहमति भएको छ ।

उखु किसानका बक्यौता रकम २१ दिनभित्र दिलाउन उद्योग मन्त्रालयले पहल गर्ने र त्यो अवधिमा भुक्तानी नगरेका उद्योगीलाई कानुनअनुसार कारवाही गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति गरेको उखु किसान संघर्ष समितिका महासचिव हरेश्याम राय यादवले जानकारी दिए ।

सरकारले बाँकी रकम उपलब्ध गराइदिने बताएपछि उखु किसानहरु पूर्ण रुपमा विश्वस्त भने छैनन्। हाललाई आन्दोलन स्थगित गरे पनि सबै पैसा नपाई काठमाडौंबाट घर नफर्कने यादवले बताए ।

चार बुँदे सहमतिपछि काठमाडौंमा जारी आन्दोलन स्थगन गर्न किसान प्रतिनिधि तयार भएको उनले बताए ।

‘उखु किसानको रकम भुक्तानी नगर्ने मिल मालिकको सम्पत्ति रोक्का गर्ने, थुनुवापुर्जी जारी गर्ने लगायतका कारवाही सूरु भइसकेको र उद्योग मन्त्रालयले चिनी उद्योगीले उखु किसालाई भुक्तानी गर्नुपर्ने वक्यौता रकम सम्बन्धित उद्योगबाट २१ दिनभित्र उपलव्ध गराउने, तोकिएको म्यादभित्र बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीहरुलार्ई सम्बन्धित सरोकारवाला निकायहरुसँग थप समन्वय गरी कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाउने गरी सहमति भएको छ । सहमतिमा उद्योग मन्त्रालयबाट सहसचिव नारायण रेग्मी, उखु किसान संघर्ष समितिका तर्फबाट अध्यक्ष रामसर्त रायले हस्ताक्षर गरेका छन् । त्यसैगरी सहमतिको साक्षीका रुपमा गृहमन्त्रालयका प्रतिनिधि र कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधिलगायत ६ जना रहेका छन् ।

त्यसैगरी उखु किसानको माग र अन्य विरोधाभास विषयमा अध्ययन गर्नका लागि १० सदस्यीय एक प्राविधिक समिति गठन गरिएको  छ । सो समितिले १२० दिनभित्र आफ्नो प्रतिवेदन उद्योग मन्त्रालयलाई बुझाउने भनिएको छ । सो समितिमा उद्योग मन्त्रालय, गृहमन्त्रालय, कृषि मन्त्राय, किसान, उद्योगीका प्रतिनिधि रहनेछन् ।

किसानहरूले आफ्नो उधारो भराइदिन माग गर्दै एक वर्षअघि काठमाडौंमा प्रदर्शन गरेका थिए । त्यति बेला उद्योगीहरूले पैसा चुक्ता गर्ने सहमति गरे पनि पूरा गरेनन् । सरकारले पनि पहल गरेन । त्यही भएर काठमाडौंको चिसोमा दोस्रोचोटि सडक तताउन आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: