अर्थतन्त्रका परिसूचक सकारात्मक

काठमाडौं, ७ पुस : चालू आर्थिक वर्षको पहिलो चार महिनामा अर्थतन्त्र परिसूचक सकारात्मक देखिएका छन् । विप्रेषण आप्रवाह, आयात निर्यातको असमानता घट्दा व्यापार घाटामा कमी र विदेशी विनिमय सञ्चितिमा सुधार आएको छ ।

नेपाल राष्ट्र बैङ्कले जारी गरेको आर्थिक वर्ष ०७७/७८ को पहिलो चार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा तीन खर्ब ३७ अर्ब ७२ करोड रुपियाँ विप्रेषण भित्रिएको छ । मुलुकमा कोरोना कहरयता उच्च सुधारमा रहेको विप्रेषण आप्रवाह चार महिनामा ११.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो ।

विदेशी मुद्रा सञ्चिति वृद्धि

चालू आर्थिक वर्षको पहिलो चार महिनामा विदेशी मुद्रा सञ्चिति ७.४ प्रतिशतले वृद्धि भएको छ । ०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तमा १५ खर्ब छ अर्ब छ करोड रुपियाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.२ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ । यो विदेशी विनिमय सञ्चितिले १५.४ महिनाको वस्तु आयात र १४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैङ्कले जनाएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: