सेयर बजारमा एकैदिन ६ अर्बको कारोबार, ३६ अंकले बढ्यो सेयर बजार

काठमाडौं, ४ मंसिर : नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो ।

साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा उत्साह देखिएको छ । ऐतिहासिक कारोबार भएको दिन बजार परिसूचक नेप्से पनि उच्च अंकले बढेको छ ।

यसअघि एकैदिन ४ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो, आज नयाँ रेकर्ड कायम भएको हो ।

पछिल्लो केही महिनायता लगातार बढिरहेको नेप्सेमा दसैँयता झनै उत्साह देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचकले खासै साथ नदिए पनि नेप्से भने उच्च अंकले बढेको छ ।

आज नेप्सेमा ५६ हजार २३१ वटा कारोबारमा १९८ कम्पनीको एक करोड ४० लाख ५७ हजार ८४१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ४२ लाख ८ हजारको कारोबार भएको छ ।

बैंकिङ समूहको सूचकले साथ नदिए पनि व्यापार होटेलसँगै निर्जीवन बिमा, जीवन बिमा, अन्य र उत्पादन समूहको सूचक उल्लेख्य बढ्दा नेप्सेमा सकारात्मक प्रभाव परेको हो । बैंकिङ समूहको सूचक ०.२१ प्रतिशतले मात्रै वृद्धि भए पनि व्यापार समूहको सूचक ९.९४ प्रतिशत, होटेल समूहको सूचक ९.३८ प्रतिशत, निर्जीवन बिमा समूहको सूचक ४.३३ प्रतिशत, उत्पादन समूहको सूचक ५.६४ प्रतिशत, अन्य समूहको सूचक ४.४३ प्रतिशत र जीवन बिमा समूहको सूचक १.५ प्रतिशतले वृद्धि भएको छ । नेप्सेका कारोबारमा आउने बैंकिङ र म्युचुअल फन्डबाहेक अन्य सबै समूहको सूचक १ प्रतिशतभन्दा माथिले वृद्धि भएको छ ।

आज कारोबारमा आएकामध्ये १५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । युनिलिभर नेपाल, र तारागाउँ रिजेन्सी होटेलको सेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदा अन्य १३ कम्पनीको सेयर मूल्य पनि करिब १० प्रतिशतले नै वृद्धि भएको छ । सकारात्मक सर्किट लाग्‍नेमा उत्पादन अन्य तथा व्‍यापार र बिमा समूहका कम्पनीहरु छन् । गुमाउनेमा भने रैराङ हाइड्रोपावर, सामूहिक लगानी कोष र ऋणपत्रका लगानीकर्ता छन् ।

लगानीकर्ता नेपाल पुनर्बिमा कम्पनीमा झुमिँदा ४१ करोड आठ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार रकममा हिमालयन डिस्टिलरी, नेपाल लाइफ, नेसनल लाइफ, र नेपाल दूरसञ्‍चार कम्पनी अगाडि छन् ।

नेप्से ३६ अंकले बढ्यो

बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३६ दशमलव ३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ प्रतिशत अर्थात ४.९८ प्रतिशतले बढेको छ ।

दिनभर भएका ५६ हजार ३ सय ४१ कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँ पुगेको छ । यो नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा धेरै हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2019. All Rights Reserved.
Designed By: Web House Nepal Pvt. Ltd.
error: